मुगुमा यार्सा संकलकबाट ६९ लाख बढी राजश्व संकलन


मुगुम कार्मारोङ गाउँपालिकामा यो पटक यार्सा संकलकबाट ६९ लाख ५२ हजार ५ सय राजश्व संकलन भएको छ । अझै पनि संकलकहरु आउने क्रम रहेकाले राजश्व संकलनको क्रम निरन्तर छ । गत वर्ष यार्सा संकलकबाट करिब ४६ लाख राजश्व संकलन भएको छ । यो पटक ६९ लाख ५२ हजार ५ सय रुपैयाँ राजश्व जम्मा भइसकेको गाउँपालिकाले जनाएको छ ।
यार्सा राजश्व संकलन टाली प्रमुख एवम् मुगुम कार्मारोङ गाउँपालिकाका आन्तरिक लेखा परीक्षक महेशबहादुर मल्लले यार्चा टिप्न पाटन जाने जिल्ला बाहिरकालाई प्रति ब्यक्ति २ हजार ५ सय र जिल्ला भित्रकालाई प्रति ब्यक्ति २ हजारका दरले प्रवेश शुल्क उठाइएको बताए ।
यो पटक यार्चाबाट करिव ७० लाख राजश्व संकलन हुन सक्ने अनुमान गरिएको उनले बताए । पाटनमा यार्चा टिप्न धेरै मानिस पाटन गइसकेको र केही फाँटफुट मानिस जाने क्रम जारी रहेको र उनीहरुबाट प्रवेश शुल्क उठाउने गरिएको मुगुम कार्मारोङ गाउँपालका–२ का वडाअध्यक्ष च्यावा लामाले बताए ।कोराना महामारीका कारण ४ वर्षसम्म यार्चाबाट उठ्न सकेको थिएन ।
गतवर्ष भने ४६ लाख रुपैयाँ राजश्व उठेको थियो । मुगुम कार्मारोङ गाउँपालिकाको सानोकोइकी, ठूलोकोइकी, रिमार, टाँके, हाङदाङखोला लगायत ७ वटा स्थानमा यार्चा टिप्ने गरिएको छ । यसपटक करिब साढे ४ हजार मानिसहरु यार्चा टिप्न यहाँ आइपुगेका छन् ।






