घरेलु हिंसा विरुद्ध सरोकारवाला एकजुट

सुर्खेत । घरेलु हिंसा विरुद्ध सुर्खेतका सरोकारवाला निकायले एकजुट भएर अघि बढ्ने भएका छन् । सुर्खेतसहित कर्णाली प्रदेशमा विद्यमान विभिन्न प्रकृतिका घरेलु हिंसा न्यूनिकरणका लागि सरोकारवाला निकाय एकजुट हुन तयार भएका हुन् ।
दएसिया फाउण्डेशनको आयोजना, नेपाल कानून समाज तथा नागरिक संवाद कर्णाली प्रदेश सुर्खेतको समन्वयमा शुक्रबार वीरेन्द्रनगरमा सम्पन्न घरेलु हिंसा सम्बन्धि कानुनी व्यवस्था तथा चुनौतीबारे छलफल कार्यक्रममा सहभागी सरोकारवाला अब हिंसा न्यूनिकरणका लागि एकजुट हुने प्रतिबद्धता जनाएका हुन् ।
नागरिक अगुवा तथा नागरिक सरोकार संघ सुर्खेतका संयोजक पिताम्बर ढकालले समाजमा घरेलु तथा लैंगिक हिंसाका घटना बढिरहेको बताए । उनले हिंसा न्यूनिकरणका लागि सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले सचेतनाका कार्यक्रम संचालन गर्नपर्ने बताए ।
त्यस्तै इन्सेक प्रतिनिधि विन्दुलाल रेग्मीले शिक्षामा सबैको समान पहुँज पु¥याउन सके महिला हिंसा न्यूनकरण हुने बताए । द एसिया फाउण्डेशन कर्णाली प्रदेशका संयोजक विशाल आचार्यले न्यायको पहुँचलाई विपन्न नागरिकसम्म पुगेमात्रै हिंसा पीडितले न्याय पाउने धारणा राखे ।
नेपाल कानुन समाज प्रशासन तथा कार्यक्रम अधिकृत अम्बिका भट्टराईले हिंसा न्यूनिकरणका लागि समाजका सबै बर्गका नागरिकहरु एकजुट हुनुपर्ने बताइन् ।






