ओलीलाई भुसालको प्रतिप्रश्न: कसको बलमा र कसका लागि एमाले विभाजन गर्दै हुनुहुन्छ ?

काठमाडौं । नेकपा एमालेका उपमहासचिव धनश्याम भुसालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि प्रश्न उठाउँदै स्पष्टीकरणको जवाफ दिएका छन् । पार्टी अध्यक्ष ओलीले नै पार्टी विभाजन गर्न खोजेको भन्दै उनले प्रश्न गरेका छन्, ‘कसका बलमा, कसका लागि यो सबै गर्दै हुनुहुन्छ ?’
ओली पक्षीय नेताहरु मात्र उपस्थित रहेको ७ चैतको केन्द्रीय कमिटी बैठकले भुसालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो । उनीहरुमध्ये जवाफ दिएका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई अध्यक्ष ओलीले सोमबार मात्र ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्बन गरेका छन् । भुसाल र पाण्डेलाई भने २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएका थिए ।

मंलबार पार्टी अध्यक्ष ओलीलाई जवाफ पठाएका भुसालले आफूहरुलाई सोधिएको स्पष्टीकरणलाई कंगारु अदालत (नक्कली प्रक्रिया र प्रमाणका आधारमा सुनियोजित रुपमा लक्षित तथाकथित प्रक्रिया)को संज्ञा दिएका छन् । यसको जवाफ दिन आवश्यक नभएको, तर आरोप कति पूर्वाग्रही छन् र कति झूठा छन् भनेर जानकारी दिन पत्र लेखेको उनले बताएका छन् ।
‘पार्टी विभाजनको रेखा कोर्नुभयो’
उपमहासचिव भुसालले पार्टी अध्यक्ष ओलीले नै एमालेमा विभाजनको रेखा कोरेको आरोप लगाएका छन् । २८ फागुनमा आफ्ना गुटका मानिसहरु मात्र भेला गरेर नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको जिम्मेवारी हेरफेर, २३ जना केन्द्रीय सदस्य मनोनयन र संविधान संशोधन जस्ता निर्णय गरेर अध्यक्ष ओलीले नै पार्टी विधानको उल्लंघन गरेको उनको आरोप छ । उनले भनेका छन्, ‘त्यहीबाट पार्टीमा विभाजनको रेखा कोरिएको छ ।’
पत्रमा उनले अध्यक्ष ओलीले नै कसरी पार्टीको वैधानिक व्यवस्थाको उल्लंघन गरे भन्ने पनि उल्लेख गरेका छन् । केन्द्रीय कमिटीको बैठकको सूचना र कार्यसूची तीन दिन अगाडि नै केन्द्रीय सदस्यलाई दिनुपर्ने भएपनि त्यसो नगरिएको उनले बताएका छन् । यद्यपि संसदीय दलको बैठकमा ओलीले कसैलाई खबर पठाएको दाबी गरेको भन्दै उनले भनेका छन्, ‘तपाईको दाबी शतप्रतिशत झूठो हो । तपाईंको आफ्नै गुटका सदस्यहरुलाई पठाइएको मेसेजमा समेत केन्द्रीय कमिटीको बैठक भनेर खबर गरिएको थिएन ।’
‘मेरो चुनौतीपूर्ण प्रस्ताव छ, एउटा जाँच कार्यदल गठन गरौं र नेपाल टेलिकमबाट तथ्यहरु मागौं । उक्त मेसेज कुन–कुन व्यक्तिलाई गएको छ वा त्यसबाहेक अरु के सूचना जारी भएको खोजी गरौं, तपाईले झूटो बोल्नु भएको प्रमाणित भइहाल्छ ।’ ओलीले यस्तो झूट पटकपटक बोलेको उनले बताएका छन् ।
अनलाइनखबर






