३७ वर्षपछि घरेलु भूमिमा जुरेको नेपालको उपाधि

काठमाडाैं । ३७ वर्षपछि नेपालले घरेलु भूमिमा फुटबलको उपाधि जितेको छ । सोमबार थ्री नेसन्स कप अन्तर्राष्ट्रिय फुटबलको उपाधि जितेसँगै नेपालले सन् १९८४ पछि पहिलो पटक आफ्नै भूमिमा उपाधि उचाल्न सक्यो ।
त्यत्ति बेला पनि नेपालले बंगलादेशलाई नै हराएको थियो । दक्षिण एसियाली खेलकुद प्रतियोगिताको फुटबलतर्फ नेपालले बंगलादेशलाई नै हराएर स्वर्ण पदक जितेको हो । आठौं सागपछि सन् २००४ बाट मात्र २३ वर्ष मुनिको टोलीले साग खेलकुदमा फुटबलतर्फ सहभागिता जनाउने नियम आएको हो । यसअघि सिनियर टोलीले नै खेल्ने गर्थ्यो ।
सन् १९८४ पछि भएका विभिन्न फुटबल प्रतियोगितामा नेपालले उपाधि जित्न सकेको थिएन । यद्यपि १३ औँ सागमा नेपालले स्वर्ण जितको थियो । नेपालले पछिल्लो ७ खेलमा गर्न नसकेको गोल सोमबार थ्री नेसन्स कपका दौरान गरेको छ । ६ सय ७६ मिनेटसम्म गोलविहीन बनेर आलोचना खेपेको नेपालले संजोग राईको गोलमा गोलको खडेरी टारेको थियो ।

सुरुदेखि नै आक्रमक प्रदर्शन गरेको नेपालले बंगलादेशलाई २–१ ले हराएको हो। विश्वकप छनोटमा चाइनिज ताइपेइविरुद्ध अन्जन विष्टले २ गोल गरेपछि नेपालले गोल गर्न सकेको थिएन । विश्वकप छनोटमै अष्ट्रेलियासँग ५–० , जोर्डनसँग ३–० , कुवेतसँग १–० गोल अन्तरले हारेको नेपाल म्यानमारसँगको मैत्रीपूर्ण खेलमा ३–० ले पराजित भएको थियो ।
केही महिनाअघि ढाकामा भएको २ मैत्रीपूर्ण खेलमा एकमा बंगलादेशसँग २–० ले पराजित र अर्कोमा गोलरहित बराबरी भएको थियो । यस्तै थ्री नेसन्स कप फुटबलको पहिलो खेलमा किर्गिस्तान यु–२३ सँग र बंगलादेशसँग नै गोलरहित बराबरी खेलेको थियो । विश्व वरीयतामा नेपाल १ सय ७१ औं स्थानमा छ भने बंगलादेश १ सय ८६ औँ स्थानमा छ । नेपाली प्रशिक्षक बालगोपाल महर्जनका लागि पनि बंगलादेशसँगको विजय ऐतिहासिक भएको छ ।






