विराजको सम्मानजनक बिदाइ

काठमाडौं । हस्ती खेलाडीहरूले अपेक्षाअनुरूप बिदाइ नपाएका धेरै उदाहरण छन्। ती उदाहरण सम्झने हो भने नेपालका ‘लिजेन्ड’ फुटबलर विराज महर्जनलाई भाग्यमानी मान्नुपर्छ । विराजले सोमबार नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय खेल खेल्ने फुटबलर र घरेलु मैदानमा अन्तर्राष्ट्रिय प्रतियोगिता जितेर अन्तर्राष्ट्रिय फुटबललाई ‘बाइबाई’ भने। उनको बिदाइ खेलमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि उपस्थिति रह्यो ।
३० वर्षीय विराजको अन्तिम खेलमा नेपालले बङ्गलादेशलाई २–१ ले हराएर त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आफ्नो अन्तिम खेल खेलेका विराजलाई प्रधानमन्त्री ओलीले च्याम्पियन ट्रफी हस्तान्तरण गर्नुभयो । साधारणतया कप्तान र प्रशिक्षकले ट्रफी ग्रहण गर्ने भए पनि विराजलाई सम्मानस्वरूप ट्रफी उचाल्ने मौका दिइएको हो ।

फाइनलको ८९औँ मिनेटमा त्रिदेव गुरुङको स्थानमा विराज मैदानमा प्रवेश गर्नुभएको थियो । विराजले आफ्नो अन्तिम खेलमा सात मिनेट मैदानमा बिए । खेलमा छ मिनेट अतिरिक्त थपिएको थियो । विराजले सन्न्यासपछि आफूले नेपाली टिमलाई दिन पाएको सेवा र आफू फुटबलर बन्नुमा भाग्यमानी छु भन्दै भने, “मेरो लागि सबभन्दा ठूलो कुरा नेपालका लागि खेल्नु नै हो । फुटबल नरोजेको भए मलाई विराज महर्जन भनेर कसैले चिन्दैनथे । फुटबललाई म भगवान् मान्छु ।”
विराजले नेपालका लागि ७३ खेल खेले । विराजपछि नेपालका लागि सबभन्दा बढी खेल राजुकाजी शाक्यले ६८ खेल खेलेका छन्ल्न। विराज नेपालका सर्वाधिक सफल फुटबल खेलाडी तथा कप्तानमध्ये एक पनि हुन् । सन् २०१६ मा नेपालले लगातार तीन अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता जितेको थियो । त्यो पनि विदेशी भूमिमा जसको तुलना हुन सक्दैन । जुन गौरव नेपाली फुटबलमा पहिलो पटक सम्भव भएको हो । यी तीन उपाधि जित्दा विराज टिमका कप्तान थिए । उनले एक अन्तर्राष्ट्रिय गोल पनि गरेका छन्। उनले १८ खेलमा नेपालको कप्तानी गरेका छन् ।
तत्कालीन कप्तान सागर थापासहित पाँच जना म्याच फिक्सिङमा मुछिएपछि सन् २०१५ मा साफ च्याम्पियनसिपमा विराजलाई नेतृत्व दिइएको थियो। अर्को वर्ष नै विराजको नेतृत्वमा नेपाल बङ्गलादेशमा बङ्गबन्धु गोल्डकप, भारतको गुवाहाटीमा दक्षिण एसियाली खेलकुदअन्तर्गत साग फुटबल र मलेसियामा भएको एएफसी सोलिडारिटी कप च्याम्पियन बनेको थियो । सोलिडारिटी कप जितेर एसियाको सर्वोच्च फुटबल संस्था (एएफसी) ले आयोजना गरेको फुटबल प्रतियोगिताको उपाधि नेपालले पहिलो पटक हात पारेको थियो ।
विराजले नेतृत्व गरेको यस तीन अन्तर्राष्ट्रिय प्रतियोगितामा उपाधि जितको ह्याट्रिकलाई नेपाली फुटबलको अनुपम र अद्वितीय सफलता मानिएको छ । विराज पनि आफ्नो नेतृत्वमा नेपाललाई उपाधिको ह्याट्रिक दिलाउनुलाई आफ्नो खेल जीवनको अविस्मरणीय उपलब्धि मान्छन् ।
गत वर्ष योहान कालिनको प्रशिक्षकका रूपमा नेपाली टिममा प्रवेश भएपछि लगातार पहिलो रोजाइमा नपर्दा र टिमबाट भित्र, बाहिर भएपछि विराजले एन्फाले वातावरण बनाइदिए सन्न्यास लिने मनशाय व्यक्त गर्दै आएका थिए। पछिल्लो पटक उन सन् २०१९ को जुनमा मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टिममा विराज थिए ।
सन् २००८ मा नेपाल र पाकिस्तानबीचको मैत्री खेलबाट राष्ट्रिय टोलीमा पदार्पण गरेका विराजले सन् २००९ मा एएफसी च्यालेन्ज कपमा किर्गिस्तानविरुद्ध गोल पनि गर्नुभएको थियो । एन्फा एकेडेमी दोस्रो ब्याचका उत्पादन विराज उमेरसमूहमा उत्कृष्ट प्रदर्शनपछि राष्ट्रिय टिममा पुगे ।
विराजले अझै पनि फुटबलमा धेरै सिक्न र दिन बाँकी छ भन्दै युवा खेलाडी र समर्थकलाई सन्देश पनि दिनुभयो । “म युवा खेलाडीलाई मेहनत गर्दै जानू, अवसर कमै मात्र प्राप्त हुन्छ, पाएको अवसरलाई भजाउनुपर्छ भन्न चाहन्छु । अनुशासन सबभन्दा महत्वपूर्ण कुरा हो । यसैगरी नेपाली फुटबल समर्थकलाई आफूलाई जति माया र समर्थन दिनुभएको छ, त्यत्ति नै युवा खेलाडीलाई दिन पनि अनुरोध गर्दछु”, विराजले भने ।






