कोरोनाबाट कर्णालीमा एकसय ९३ जनाको मृत्यु

सुर्खेत । सुर्खेतमा निषेधाज्ञा लागु भएको एक महिना पुरा भएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि लागु भएको निषेधाज्ञाकै समयमा कर्णालीमा संक्रमण र मृत्युदर भने उच्च छ । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार एक महिनाको अवधिमा प्रदेशभर एकसय ९३ जनाको मृत्यु भएको छ ।
निषेधाज्ञा लागु हुनुअघि अर्थात बैशाख १३ गतेसम्म प्रदेशभर मृत्यु हुनेको संख्या जम्मा ३३ जना मात्रै थियो । तर यो एक महिनामा मृत्यु हुनेको संख्या बढेर दुईसय २७ जना पुगेको हो । त्यस्तै निषेधाज्ञाकै समयमा कर्णालीमा आठ हजार ६ सय ५१ जना संक्रमित थपिएका छन् । निषेधाज्ञाको अघिल्लो दिनसम्म कर्णाली प्रदेशभर कुल संक्रमितको संख्या आठ हजार ६२ जना थियो ।
तर पछिल्लो एक महिनाको अवधिमा अर्थात शुक्रबारसम्म कुल संक्रमितको संख्या बढेर १६ हजार सात सय १३ जना पुगेको हो । त्यस्तै यो एक महिनाको प्रदेशमा सात हजार पाँचसय १७ जनाले कोरोना जितेका छन् । बैशाख १३ गतेसम्म प्रदेशभर कोरोनामुक्त हुनेको संख्या सात हजार ६ सय ५३ जना थियो । शुक्रबारसम्म प्रदेशभर कोरोना मुक्त हुनेको संख्या १५ हजार एकसय ७० जना पुगेको छ ।

नागरिकहरुले निषेधाज्ञाको पालनन नगर्दा संक्रमण र मृत्युदर बढेको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी नोदनारायण चौधरीले बताए । नागरिक अटेरी भएकै कारण संक्रमण दर उकालो लागेको उनको तर्क छ । यस्तै जिल्ला प्रशासन कार्यालयले नागरिकहरु अटेरी हुँदा मृत्यु र संक्रमण दर बढेको जनाएको छ ।
‘कोरोना रोकथामका लागि निषेधाज्ञा लगाइयो, तर अधिकांश नागरिक अटेरी भए’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘निषेधाज्ञाको पालना गर्नेभन्दा पनि प्रहरीको आँखा छलिछलि उलंघन गर्नेहरु धेरै भए ।’
निषेधाज्ञामा कडाइ गर्ने जिम्मेवारी प्रहरी प्रशासनको मात्रै हो भन्ने मानसिकताका कारण जिम्मेवार व्यक्तिले नै निषेधाज्ञा उलंघन गर्ने गरेको उनको भनाइ छ । ‘महामारी छ भन्ने दुनियालाई थाहा छ, तर जिम्मेवार व्यक्तिहरु नै सडकमा हिँडडुल गर्दै आएका छन्’ रिजालले भने, ‘बुझ्नेहरुलाई नै सामाजिक दुरी कायम गरे भनेर सिकाउनुपर्छ ।’
सुर्खेतमा आठ हजारले गरे निषेधाज्ञाको उलंघन
एक महिनाको अवधिमा सुर्खेतमा आठ हजार नागरिकले निषेधाज्ञा उलंघन गरेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार आठ हजार ७९ जनाले निषेधाज्ञा उलंघन गरेका हुन् ।
निषेधाज्ञा उलंघन गरेका मध्ये ९२ जना महिला र तीनसय २४ जना पुरुषले कारबाहीमा परेका सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले जनाकारी दिए । उनीहरुबाट ४२ हजार एकसय राजश्व संकलन भएको छ ।
त्यस्तै दुई हजार दुईसय ४४ सवारी साधनले निषेधाज्ञा उलंघन गरेका छन् । निषेधाज्ञा उलंघन गरेका मध्ये एक हजार तीनसय ६८ वटा सवारी साधन कारबाहीमा परेका छन्






