बलियो इराकविरुद्ध नेपालको परीक्षा
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप तथा एसियाकप छनोटका लागि अहिले अरब मुलुकको भ्रमणमा छ। विश्वकप छनोटका तीन खेल अघि नेपालले आज इराकसँग मैत्रिपुर्ण खेल खेल्दै छ।
नेपाली टिमका लागि इराकविरुद्धको खेल आफ्नो क्षमता जाँच गर्ने अवसरका रुपमा रहनेछ।
नेपाल र इराकबीच बसरास्थित अल्फा मैदानमा मैत्रीपूर्ण खेल हुँने कार्यतालिका रहेको छ। बुधबार इराक पुगेको नेपालले त्यहाँ दुई दिन अभ्यासको अवसर पाएको थियो। नेपाल इराकविरुद्ध आफ्नो सक्दो क्षमता देखाउन मैदानमा उत्रनेछ।
इराकसँगको खेलपछि नेपाली टिम कुवेतमा हुने कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ छनोटका लागि आइतबार त्यसतर्फ प्रस्थान गर्नेछ। कुवेतमा नेपालले विश्वकप छनोटका ३ खेल खेल्ने छ। नेपालको घरेलु मैदानमा हुनु पर्ने खेल कोरोना महामारीका कारण कुवेतमा सारिएपछि नेपाल सबै खेल घरेलु भूमिबाहिर खेल्न बाध्य भएको हो।
नेपालले २० जेठमा चाइनिज ताइपेसँग प्रतिष्पर्धा गर्दा २५ जेठमा जोर्डन र २८ जेठमा अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ। नेपाल अहिले तीन अंकका साथ अंक तालिकाको चौंथो स्थानमा रहेको छ। नेपालको समुहमा अष्ट्रेलिया १२ अंकका साथ शीर्षस्थानमा छ भने कुवेत र जोर्डनको समान १० अंक रहेको छ।नेपालले अंक तालिकाको चौथो स्थान कायम राखेको खण्डमा एसिया कप छनोटको तेस्रो राउन्डमा स्थान बनाउने छ।






