सांसदको कोरोना परीक्षण गर्न गण्डकी प्रदेशसभाको बैठक भोलिसम्म स्थगित
सांसदको कोरोना परीक्षणको रिपोर्ट आएपछिमात्रै बस्ने गरी गण्डकी प्रदेशसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि अविश्वासको प्रस्ताव दर्तासँगै सोमबार सुरु भएको विशेष अधिवेशनमा कोरोना परीक्षण बिना बैठक चल्न नदिने भन्दै सत्तारुढ दल नेकपा एमालेले मंगलकार संसद बैठक अवरुद्ध गरेको थियो ।
सरकारका प्रवक्ता र मन्त्री नै सहभागी भएर कार्यसूची तयार गरिएको भन्दै सभामुख नेत्रनाथ अधिकारीले बैठकमा बस्न सांसदहरुलाई आग्रह गरेका थिए । तर, एमालेका सांसदले विरोध कायम राखेपछि २० मिनेटका लागि सभामुख अधिकारीले संसद बैठक स्थगित गरे ।
बैठक स्थगितपछि कार्य व्यवस्था परामर्श समितिमा छलफल थालेका दलहरुले कोरोना परीक्षणको रिपोर्ट आएपछि बुधबार दिउँसो १ बजे बस्ने गरी सहमति जुटाएका हुन् । ‘१ बजेभन्दा अगाडि नै कोरोना परीक्षण सकिसक्ने र बैठक बस्ने गरी स्थगित भएको छ,’ सभामुख अधिकारीले भने ।

सबै सांसदको पीसीआर परीक्षण गर्ने र पोजिटिभ आएकाले सदनमा बोल्न नपाउने सहमति दलहरुबीच भएको छ । तर नतिजा पोजेटिभ आए पनि भोटिङ गर्न पाउने निर्णय भएको उनले बताए । सांसदसँगै कर्मचारी, चालक लगायतको पनि कोरोना परीक्षण हुने छ ।
कोरोना परीक्षणको प्रवन्ध प्रदेश सभा सचिवालय र प्रदेश सरकारले मिलाउने छ । सत्तारुढ सांसदले कोरोनाको बाहनामा संसद स्थगित गरेको भन्दै नयाँ सरकारका लागि गठबन्धन गरिरहेका विपक्षी दलले आलोचना गरेका छन् ।
‘सांसदको कोरोना परीक्षणको प्रवन्ध मिलाउने कसले हो ? हामीले हो नगराएको ?’ कांग्रेस सांसद डोबाटे विकले भने, ‘आफैं सरकारमा बस्ने आफैं कोरोना नियन्त्रणप्रति उत्तरदायी नहुने अनि अविश्वासको प्रस्तावको छलफल लम्ब्याउने नाटक गर्ने ?’
सरकार ढल्ने निश्चित भएपछि सरकारले सीमित समयका लागि सरकारको आयु लब्याउने खेल खेलेको माओवादी सांसद दीपक कोइरालाको भनाइ छ । जनता समाजपादी पार्टीका सांसद हरिशरण आचार्यले सरकारले जग हँसाउने काम गरेको बताए । सरकारमा बसेर आफूले गर्नुपर्ने काम भएन भनेर संसद बैठक अवरुद्ध गर्नु लज्जास्पद भएको उनको भनाइ थियो ।
सोमबारकै बैठकमा एमालेका प्रमुख सचेतक मायानाथ अधिकारीले बैठकको सुरुमै संसदको ध्यानाकर्षण गराएका थिए । मंगलबार बैठकको कार्यसूचीमा प्रवेश गर्न लागेसँगै एमालेका सांसदले उठेर विरोध गरेका थिए । सभामुखले आफ्नो माग राख्ने समय दिएपछि सांसद राजीव पहारीले कोरोनाको परीक्षण बिना संसद चल्न नदिने बताए ।





