दैलेखमा भाइरल फ्लुबाट एउटै विद्यालयका तीन सय विद्यार्थी बिरामी

सुर्खेत । दैलेखमा भाइरल फ्लु अर्थात् मौसमी ज्वरोबाट एउटै विद्यालयका तीन सयभन्दा बढी विद्यार्थी बिरामी भएका छन् । नारायण नगरपालिका– ५ धिताहको नवदुर्गा निमाविका विद्यार्थी बिरामी परेका हुन् । प्रधानाध्यापक घनश्याम रेग्मीका अनुसार आइतबार करिब १५०, सोमबार १०० र मंगलबार ८५ जना विद्यार्थी बिरामी परेका छन् ।

विद्यार्थीहरुमा उच्च ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्नेजस्ता लक्षणहरु देखिएका छन्। विद्यार्थी बिरामी पर्न थालेपछि आज बुधबारदेखि तीन दिनसम्मका लागि विद्यालय बन्द गरिएको छ । विद्यार्थीहरु बिरामी परेको खबरपछि जिल्ला जनस्वास्थ्य सेवा कार्यालयले गाउँमै स्वास्थ्य शिविर चलाएको छ । चेकजाँच गराउँदा अधिकांश विद्यार्थीमा भाइरल फ्लु देखिएको जनस्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी थिरप्रसाद रेग्मीले जानकारी दिए ।

‘विद्यार्थीहरु बिरामी परेको थाहा पाएपछि गाउँमै स्वास्थ्य शिविर चलाएका छौं,’ रेग्मीले भने, ‘६० प्रतिशत विद्यार्थीमा चेकजाँच गर्दा भाइरल फ्लु देखियो ।’ कार्यालयले जिल्ला अस्पतालका डा‍. विवेक गुरुङको नेतृत्वमा शिविर चलाएको छ। अहिलेसम्म समुदायमा भने भाइरल फ्लु देखिएको छैन । बिरामी परेका सबै विद्यार्थीको पीसीआर परीक्षणसमेत गरिने भएको छ ।

‘चेकजाँच गर्दा भाइरल फ्लु देखिएको छ । बिरामी परेका सबै विद्यार्थीको बिहीबार कोरोना परीक्षण पनि गर्छौंं,’ रेग्मीले भने । बिहीबार गाउँमै एन्टिजेन प्रविधिबाट कोरोना परीक्षण गरिने छ । भाइरल फ्लु नियन्त्रणमा आएपछिमात्रै विद्यालय खोल्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन् । मौसम परिवतर्नका कारण हुने भाइरल फ्लु निको हुन कम्तिमा दुई हप्तासम्म लाग्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।

दैलेखमा भाइरल फ्लुबाट एउटै विद्यालयका तीन सय विद्यार्थी बिरामी

कर्णालीमा सडक दुर्घटना बढ्यो, २० महिनामा १६९

Leave a comment

Your email address will not be published. Required fields are marked *