पूर्व गृहमन्त्री ‘बादल’का भाइ नरेश जेलबाट छुटे
काठमाडौंः पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का साईंला भाइ नरेश थापा जेलबाट छुटेका छन् ।
उच्च अदालत पाटनले नरेशकुमार थापालाई २०७६ माघ २७ मा १ वर्ष ६ महिना थुनामा राख्न आदेश गरेको थियो। अदालतले तोकेको सजाय पुरा गरेपछि थापालाई रिहा गरिएको डिल्लीबजार कारागारका प्रमुख वसन्त पुरीले बताए।
उनले भने–‘सजाय पुरा गरेर उहाँ आज रिहा हुनुभएको छ।’ निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा दोषी ठहर भएका समिरमानसिंह बस्नेसँग मिलेर नरेशले आपराधिक गिरोह सञ्चालन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाई पक्राउ गरेर अनुसन्धान गरेको थियो।
आपराधिक लाभ र संगठित अपराध मुद्दामा जिल्ला अदालत काठमाडौंको आदेशलाई बदर गर्दै उच्च अदालतका तत्कालीन मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीमणकुमार गौतमले थापालाई थुनामा राख्न आदेश गरेका थिए।
२०७६ असोज १ मा जिल्ला अदालत काठमाडौंका न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले मागेको १ लाख धरौटी बुझाएर छुटेका थापा उच्चको आदेशपछि फेरि पक्राउ गरेका हुन्। केन्द्रीय कारागार सुन्धारामा रहेका बस्नेतसँग मिलेर नरेशले ठेकेदारलाई धम्की दिने ‘गिरोह’ सञ्चालन गरेका थिए। गौचनको २०७४ असोज २३ मा हत्या भएको थियो।





