नेपालगन्जमा एक साताका लागि निषेधाज्ञा, अत्यावश्यकबाहेक हिँडडुलसमेत गर्न नपाइने

बाँके । बाँकेको नेपालगन्ज क्षेत्रमा एक साताका लागि निषेधाज्ञा घोषणा भएको छ । कोरोना संक्रमण तिव्र भइरहेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज क्षेत्रमा आज (बुधबार) मध्यरात १२ बजेदेखि आगामी वैशाख १५ गते मध्यरातसम्म निषेधाज्ञा घोषणा गरेको हो ।
यस अवधिमा अत्यावश्यकबाहेक यातायात, बैंक तथा वित्तीय संस्था, पसल, व्यवसाय तथा हिँडडुलमा समेत रोक लगाइएको छ । दैनिक उपभाेग्य वस्तुमध्ये तकारी, खाद्यान्न, दूध तथा ग्यासका पसलहरु भने बिहान ६ बजेदेखि बिहान ९ बजेसम्म सञ्चालन गर्न पाइनेछन् ।
‘कोरोना संक्रमण फैलावटको सांग्लो तोड्न र सोको रोकथाम तथा नियन्त्रणलाई प्रभावकारी बनाउन नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७८-०१-०६ को आदेश, संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३) बमोजिम बाँके जिल्लाको उच्च जोखिम रहेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभर मिति २०७८ वैशाख ८ गते राति १२ बजेदेखि वैशाख १५ गते राति १२ बजेसम्म देहाय अनुसारका अत्यावश्यक सेवा र सोका लागि प्रयोग हुने सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तीय संस्थासमेत), सवारी साधन, पसल व्यवसाय सञ्चालन र अत्यावश्यक कामबाहेकको हिँडडुलमा समेत निषेध गर्ने,’ प्रशासन कार्यालयबाट जारी आदेशमा भनिएको छ ।

प्रशासन कार्यालयका अनुसार नेपालगन्ज क्षेत्रमा मात्रै ७३५ जना सक्रिय संक्रमित पुगिसकेका छन् । कोरोनाको नयाँ भेरिएन्टसमेत देखिएको र अस्पतालसमेत भरिभराउ भएकोले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको मंगलबारको बैठकको सिफारिसका आधारमा यस्तो निर्णय लिइएको प्रमुख जिल्ला अधिकारी शिवकुमार गेलालले बताए । मंगलबार केन्द्रले बिहीबारदेखि ७ दिन लकडाउन गर्न सिफारिश गरेको थियो ।
सञ्चालन गर्न पाइने सेवा र कार्यहरु : स्यास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकका एटीएम, सार्वजनिक निर्माण कार्य, पूर्वनिर्धारित परीक्षा र हवाई सेवा ।
सञ्चालन गर्न पाइने सवारी साधनहरु : एम्बुलेन्स, शववाहन, दमकल, झन्डावाला र निलो प्लेट (कूटनीतिक) का, लामोदूरीका तथा मालबाहक, निर्माण सामग्री ढुवानीका, अत्यावश्यक सेवा दिन खटिएका जनशक्तिले प्रयोग गरेका र अनुमति प्राप्त ।
गम्भीर बिरामीलाई मात्र अस्पताल भर्ना
संक्रमित बिरामीको चाप बढेपछि बाँकेमा अब गम्भीर प्रकृतिका बिरामीलाई मात्र अस्पताल भर्ना गरिने भएको छ । कोरोना भाइरस नेपालगञ्जस्थित भेरी अस्पताल र शिक्षण अस्पताल कोहलपुरमा सङ्क्रमित बिरामीको उपचारका लागि छुट्याइएका शय्या भरिभराउ भइसकेका कारण अब गम्भीर प्रकृतिका र तत्काल अक्सिजन सहायता पर्ने बिरामीलाई मात्र अस्पतालमा भर्ना लिने निर्णय भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार कोरोना भाइरस सङ्क्रमित तर लक्षण नभएका र सामान्य लक्षण भएका बिरामीलाई स्थानीय तहका स्वास्थ्यकर्मीको निगरानीमा जनस्वास्थ्यका मापदण्ड पूरा गर्ने गरी होम आइसोलेसनमा बसाइने भएको छ । होम आइसोलेसनमा बस्न मापदण्ड नपुग्ने सङ्क्रमितलाई स्थानीय तहले सञ्चालन गरेका आइसोलेसनमा राख्ने र पैसा तिरेर बस्न सक्नेका लागि विगतमा झैँ उपयुक्त व्यवस्था तथा मापदण्ड पुगेको होटलमा ‘पेइड आइसोलेसन’ को व्यवस्था गरिने स्रोत व्यक्ति वलीको भनाइ थियो ।
भेरी अस्पतालमा सञ्चालित १५ शय्याको कोभिड आइसीयू र १०२ शय्याको कोरोना विशेष वार्ड बिरामीले भरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए । उनका अनसार १५ शय्याको कोभिड आइसीयूमा अहिले ४० जनालाई राखिएको छ । बिरामीको चाप बढेपछि अरु शय्यालाई पनि सघन उपचार कक्ष बनाइएको छ ।
कोरानाका शङ्कास्पद बिरामीलाई राख्ने ४० शय्याको प्रि-आइसोलेसन वार्डसमेत लगभग भरिइसकेको छ । सङ्क्रमण फैलिने क्रम नरोकिए अस्पतालले थेग्न नसक्ने भन्दै उनले समग्र स्वास्थ्य प्रणाली नै ‘फेल’ हुन सक्ने जोखिम रहेको बताए ।
भेरी अस्पतालमा अहिले कोरोना सङ्क्रमित ४० जनालाई सघन उपचार कक्ष, ७ जनालाई भेन्टिलेटर र ८२ जनालाई विशेष वार्डमा राखेर उपचार व्यवस्था मिलाइएको डा. थापाले बताए । सामान्य अवस्थामा अस्पतालमा भीडभाड नगरिदिन, अत्यावश्यक काम नपरेसम्म घरबाट ननिस्कन, मास्क अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कामय गर्न तथा रुघाखोकी, ज्वरोका लक्षण देखापरेमा एकान्तबासमा बस्न अनुरोध गरिएको भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले बताए ।
केही दिनयता बाँके कोरोनाको केन्द्रविन्दु बनेको छ । सोमबार मात्रै एकैदिन ३२२ जना कोरोना सङ्क्रमित भेटिएका छन् ।
सबै कर्मचारीमा सङ्क्रमणपछि वडा बन्द
सबै कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि नेपालगञ्ज उपमहानगरपालिका–१ कार्यालय बन्द गरिएको छ । वडाका सबै कर्मचारीलाई कोरोना पुष्टि भएपछि परिस्थिति अनुकूल नभएसम्मका लागि वडा कार्यालय बन्द गरिएको वडाध्यक्ष प्रमोद रिजालले जानकारी दिए ।
कर्मचारीलाई कोरोना पुष्टि भएपछि वडाबाट प्रदान गरिँदै आएको सेवा प्रभावित बनेको छ । यस्तो अवस्थामा कोरोना झन् फैलिन सक्ने भन्दै परिस्थिति अनुकूल नभएसम्मका लागि कार्यालय बन्द गरिएको उनको भनाइ छ ।
वडामा कार्यरत तीन महिला र तीन पुरुषमा कोरोना पुष्टि भएको छ । सङ्क्रमित हुने सबैको स्वास्थ्यावस्था सामान्य रहेको वडाध्यक्ष रिजालले बताए । होम आइसोलेसनमा रहेका सङ्क्रमित कर्मचारी केहीलाई ज्वरो, कसैलाई खोकी र कसैलाई रुघाखोकीको समस्या छ ।
यस्तो छ प्रशासनको आदेश :







