दैलेखमा संक्रमण तीव्र

दैलेख । भैरबी गाउँपालिकाका एक युवक गत चैत्र अन्तिम साता भारतबाट जन्मथलो फर्किए । दुई महिनाअघि मात्रै उनी मजदुरीका लागि त्यहाँ पुगेका थिए। गुजरात प्रदेशको सुरत सहरबाट फर्किने क्रममा बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकामा सामान्य सोधपुछ मात्रै भयो ।
उनी सुर्खेतहुँदै गाउँ पुगे । गाउँ पुगेपछि उनलाई स्वास्थ्य समस्या देखिन थाल्यो । ’एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । अहिले उनी दैलेख अस्प्तालको आइसोलेसनमा उपचाररत छन् ।
दुल्लु नगरपालिका–२ नाउलेकटुवालस्थित वडापोखराका ३८ वर्षीय पुरुष गत शुक्रबार जन्मथलो फर्किए । भारतको मुम्बईबाट गाउँ फर्किएका ती पुरुषको शनिबार मृत्यु भयो । घर आइसकेपछि स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि उनलाई दुल्लु अस्पताल पु¥याइएको थियो ।
अस्पतालले सुर्खेत रिफर गरेपनि अस्पतालमै निधन भयो । भारतमै संक्रमण देखिए पनि उनले कसैलाई भनेका थिएनन् । गम्भीर अवस्थामा अस्पताल पुगेको र सुर्खेत रिफर गरेर लैजान नपाउँदै मृत्यु भएको दुल्लु अस्पतालकी डा. रञ्जना रोकायले बताइन् । संक्रमितको मृत्युपछि ५ स्वास्थ्यकर्मी आइसोलेसनमा बसेका छन् ।

सोही दिन नारायण नगरपालिका–१ की ६७ वर्षीया वृद्धाको नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । नारायण नगरपालिका–९ बास्कोटका एक महिला उनका ६ महिने शिशु, अहिले दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत छन् । ती महिलाका श्रीमान भारतबाट फर्किएका थिए ।
भारतबाट फर्किएका श्रीमानबाट महिला र शिशुमा संक्रमण सरेको हुनसक्ने स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख थीरप्रसाद रेग्मीले बताए । आठबीस नगरपालिका–३ का एक महिला पतिसँगै भारतबाट फर्किइन् । भारतबाट फर्किएको केही दिनमै परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेसनमै छिन् ।
पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दिनदिनै तीव्र गतिमा बढिरहेको छ ।
जसका कारण रोजगारीका लागि भारतका विभिन्न ठाउँमा पुगेका व्यक्तिहरु घर फर्कने क्रममा छन् । कोरोना त्रासका कारण घर फर्कनेहरुबाटै कोरोना भाइरस (कोभिड–१९) को जोखिम उच्च छ । ‘जिल्लामा भारतबाट फर्किनेहरुको संख्या उच्च छ, यद्धपी कसैले पनि भारतबाट फर्किएको हुँ भन्दैन, त्यसले पनि जोखिम बढाएको छ,’ स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख थीरप्रसाद रेग्मी भन्छन् ।
भारतबाट फर्किनेहरुले जिल्ला भित्रिने नाकाहरुमा सरकारी निकायलाई छल्दै जिल्ला भित्रिन थालेका छन् । हाल जिल्लामा सक्रिय संक्रतिको संख्या ८ जना छ । ६ महिने शिशुसहित चारजना दैलेख अस्पतालको आइसोलेसनमा छन् भने ४ जना होम आइसोलेसनमा छन् । ती मध्ये अधिकांश संक्रमित भारतबाट फर्किएका हुन् ।
भारतबाट लुकिछिपी र नाकामा छलेर गाउँ छिनरुकै कारण समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ । पीसीआर ल्याब र आइसोलेसन सञ्चालनमा कठिनाइ
भारतमा तीव्र गतिमा बढेको संक्रमणले दैलेख जिल्ला प्रभावित भएपनि रोकथाम, नियन्त्रण र उपचारका लागि गर्नुपर्ने तयारी सुस्त छ ।
जिल्लाको पीसीआर प्रयोगशाला र आइसोलेसन अस्पताल नै सञ्चालनमा समस्या छ । ‘एकातिर पीसीआर ल्याब सञ्चालनका लागि सरकारले हामीलाई अनुमति छैन, स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख थीरप्रसाद रेग्मी भन्छन््, ‘अर्कोतर्फ बजेट अभाव छ ।’






