कुलो भत्किएपछि खेत बाँझै रहने चिन्ता

हुम्ला । खेत जोत्ने र धानको बीउ राख्ने समयमा कुलो भत्किएपछि हुम्लाको सिमकोट गाउँपालिका वडा नम्बर १ र २ मा रहेको मार्सी धान फल्ने ग्याग्रु जिउलाको ४० रोपनी खेल बाँझो रहेको छ । सडक निर्माण गर्ने क्रममा कुलो भत्किएको हो ।
कुलो भत्किएपछि सबै काम रोकिएको र खेत हालसम्म बाँझै रहेको वडा नम्बर २ का जस भण्डारीले बताए । उनका अनुसार हिउँदमा गहुँ र उवा छर्ने र जेठ असारमा धान रोप्ने खेत सिंचाईको सुविधा नभएपछि खेत बाँझो रहेको हो ।

कुलो निर्माण नगरिए यस वर्ष खेत बाँझो रहने किसानको चिन्ता छ । कुलोलाई सुचारु गर्न सरोकारवाला निकायलाई अर्का स्थानीय दाने भण्डारीले आग्रह गरे । उनले भने, ‘सडक पनि बन्यो । अब कुलो मर्मत गरेर सुचारु भए हुने थियो । सरोकारवाला निकायको यसतर्फ ध्यान पुगोस् ।’
सडक निर्माणका क्रममा केही क्षेत्रमा माटो र ढुङ्गा खस्दा कुलो छोपिएको तथा केही क्षेत्रमा क्षति पुगेका कारण यसलाई छलफलबाट समाधान ल्याउने सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामाले बताए । कुलो अवलोकनमा पुगेका लामाले सडक निर्माणका क्रममा सिंचाई कुलोमा क्षति पुगेको र अब त्यसको मर्मतका लागि केही उपाय निकाल्नु पर्ने देखिएको बताए ।






