आइतबारदेखि अढाई लाखभन्दा बढीलाई ‘ओरल कलेरा भ्याक्सिन’ दिइने कपिलवस्तुको हैजा प्रभावित क्षेत्र

काठमाडौं : कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका अढाई लाखभन्दा बढी बासिन्दालाई ‘ओरल कलेरा भ्याक्सिन’ आइतबारबाट दिइने भएको छ ।
सनोफी हेल्थ केयर इन्डिया प्रालिले बनाएको उक्त ओरल भ्याक्सिन विश्व स्वास्थ्य संगठन, गाभी र युनिसेफको ग्लोबल स्टकपाइलमा रहेको खोप युनिसेफको सप्लाई डिभिजन नेटवर्क हुँदै नेपालमा २ लाख ५२ हजार ३६३ मात्रा ‘ओरल कलेरा भ्याक्सिन’ आइतबारबाट प्रभावित क्षेत्रमा दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले बताए ।
कपिलवस्तुका हैजा प्रभावित पाँचवटा पालिकाका स्थानीयलाई दिइने उनले बताए । उक्त खोप एकपटक लगाएपछि पाँच वर्षसम्म सुरक्षित रहने विभिन्न अध्ययनले देखाएको छ ।
कृष्णनगर नगरपालिका–९ बाट असोजको मध्यदेखि सुरु भएको झाडापखालाको प्रकोप शिवराज नगरपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाका बासिन्दामा समेत देखा परेको थियो । अस्पतालमा भर्ना भएका वेला दिसा परीक्षण गर्दा उनीहरूमा हैजा भएको प्रमाणित भएको थियो ।






