बाबा रामदेवको पतञ्जलीलाई सरकारले जग्गा उपलब्ध गराउँछ : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले पतञ्जली योग पीठलाई सरकारले जग्गा उपलब्ध गराउने बताएका छन् ।
शुक्रवार पतञ्जली योगपीठ नेपालले आयोजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले गैरनाफामूलक कामका लागि सरकारले बाबा रामदेवलाई सक्दो सहयोग गर्ने बताए ।
‘आज संसारमा साइड इफेक्ट नभएको औषधि केही छ भने त्यो आयुर्वेद मात्रै छ, बाबा रामदेवले नेपालमै आयुर्वेदिक औषधिहरू बनाउन चाहनुभएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘नेपाल सरकारका तर्फबाट उहाँलाई पूरा सहयोग हुनेछ । सरकारले जग्गा उपलब्ध गराउनेछ ।’
बाबा रामदेवले नेपालमा धेरै काम गर्न खोजेको भन्दै प्रधानमन्त्री देउवाले सरकारले सक्दो सहयोग गर्ने वचन दिए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतले बोलेका थिए ।






