विद्यालयमा पनि देखिन थाल्यो कोरोना संक्रमण

सुर्खेत । कोरोना संक्रमण बढ्दै गइरहेका बेला विद्यालय क्षेत्रमा पनि संक्रमण देखिन थालेको छ । वीरेन्द्रनगर–११ को अमरज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरुमा कोरोना संक्रमण देखिएको हो । पछिल्लो सयम पाँच जना विद्यार्थी र दुई जना शिक्षकलाई कोरोना संक्रमण देखिएको विद्यालयका प्राधानाध्यापक खगेन्द्र थापाले जनाए ।
‘केही दिनदेखि विद्यार्थीमा कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिन थालेका छन्’ प्राधानाध्यापक थापाले भने, ‘अहिलेसम्म पाँच विद्यार्थी र दुई जना शिक्षक संक्रमति भएका छन् ।’ आइतबार मात्रै दुई जना विद्यार्थीमा संक्रमण देखिएको छ । कोरोना परीक्षणको रिपोर्ट आउन बाँकी रहेका कारण संक्रमितको संख्या बढ्नसक्ने उनको भनाई छ ।

संक्रमण बढ्दै गएको खण्डमा कम्तिमा हप्तादिन विद्यालय बन्द हुने थापाले जनाए । अमरज्योतिमा दुई हजार आठसयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् । संक्रमण देखिए पनि आवश्यक सावधानी अपनाएर विद्यालय सञ्चालन गरिएको छ । वार्षिक परीक्षा नजिकिंदै गरेका कारण विद्यालय बन्द गरिएको छैन । विद्यालययमा संक्रमण देखिएको खबर नगर शिक्षा र प्रशासनलाई जानकारी दिइएको छ ।






