गाडीलाई बाजागाजासहित स्वागत

हुम्ला । सिमकोट गाउँपालिका–१ दोजाममा पहिलोपल्ट गाडी पुगेको छ । गाउँमा पहिलोपल्ट पुगेको गाडीलाई स्थानीयले नाचगान र बाजागाजासहित स्वागत गरे । सिमकोटदेखि झन्डै २० किमि टाढाको दोजाममा गाडी पुगेपछि सदरमुकामसँग दूरी छोटिएको हो ।
चारवटा गाडी लिएर सदरमुकाम सिमकोटबाट जनप्रतिनिधिसहित विभिन्न कार्यालयका प्रमुख र राजनीतिक दलका नेताहरू दोजाम पुगेका थिए । ‘गाडीसँगै गाउँमा विकास आयो,’ स्थानीय श्यामजोर लामाले भने, ‘घण्टौं हिँड्नुपर्ने बाध्यताबाट मुक्ति पाइयो, अब गाउँको उत्पादनले बजार पाउने भयो ।’
उनले गाडी पुगेपछि दैनिक उपभोग्य सामान र खाद्यान्न ढुवानीमा सजिलो हुने बताए । यसअघि २ नम्बर वडाको ठेहेसम्म गाडी पुगेको थियो । गाडी पुगेपछि गाउँलाई अन्य पूर्वाधार विकाससँग जोड्न सजिलो भएको वडा नं.१ का अध्यक्ष ताराबहादुर लामाले बताए ।

‘गाडी पुग्यो, अब निर्माण सामग्रीको ढुवानी पनि सहज हुनेछ,’ उनले भने, ‘दैनिक उपभोग्य सामग्री र खाद्यान्नको भाउ घट्ने आशा छ ।’ गाडी पुगेपछि स्थानीयले जनप्रतिनिधि, दलका नेता र कार्यालय प्रमुखहरूसँग नाचगान गर्दै खुसी साटे । ‘घर अगाडि गाडी पुग्ला भनेर सोचेकै थिइनौं,’ ८० वर्षीय आङ्गेल लामाले भने, ‘घरैबाट गाडी चढेर सदरमुकाम जान पाइने भयो ।’
उनले आफूहरूको जीवन दुःखमै बिते पनि छोरानातिले सुख पाउने बताए । गाउँपालिका अध्यक्ष पदमबहादुर लामाका अनुसार दोजामसम्म सडक पु¥याउन गाउँपालिकाले ५ करोड रुपैयाँ खर्च गरेको छ । उनका अनुसार स्थानीय तह गठनलगत्तै सबै वडामा गाडी पु¥याउन सडक निर्माण थालिएको थियो । ‘अब ८ नम्बर वडाको स्याडामा मात्र सडक पुग्न बाँकी छ,’ उनले भने, ‘सडक नै विकासको पहिलो पूर्वाधार भएकाले सडक निर्माणलाई तीव्रता दिएका हौं, अब अरू विकास निर्माणका काम गर्न पनि सहज हुनेछ ।’






