पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी
काठमाडौं । नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई चेतावनी दिएको छ।
कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनै पनि वहानामा पत्रकारहरुको रोजगारी नखोस्न चेतावनी दिएको हो।
महासंघका महासचिव रोशन पुरीले कोरोना महामारीका बेला कुनै पनि वहानामा पत्रकारलाई निष्कासन नगर्न आग्रह गरे। उनले कोभिड १९ को पहिलो लहरमा जस्तौ दोस्रो लहरमा पनि पत्रकारहरुलाई निष्कासन गर्न सुरु गरिएको र निष्कासित भएका पत्रकारहरुका निम्ति महासंघले कानुनी लडाइ लड्नुको साथै दबाबमुलक काम गरिरहेको बताए।
महासंघले कोभिडको दोस्रो लहरमा निष्कासनमा परेका नौजनाको पुनर्नियुक्ति समेत गराएको महासचिव पुरीले जानकारी दिए। त्यसैगरी पाँचवटा सञ्चार माध्यमलाई सात दिनभित्र पत्रकारहरुको समस्या समाधान गर्न अल्टिमेटम दिएको पनि उनले बताए।
महासचिव पुरीले ऐन बनाउने र कार्यान्वयन नगर्ने बिडम्बनाबाट सरकार माथि उठ्नुपर्ने आवश्यकता औंल्याए। महासंघले महामारीको समयमा पत्रकारहरु फ्रन्टलाइनमा बसेर काम गरिरहेको भन्दै फ्रन्टलाइनरको परिभाषाभित्र पत्रकारहरुलाई पनि समेटेर त्यही प्रकारको सेवा सुविधा र व्यवहार गर्न पनि सरकारसँग आग्रह गरेको छ।
उनले भने, ‘सरकारलाई बारम्बार आग्रह गरेका छौँ। फ्रन्टलाइनरको जुनखालको परिभाषा छ । त्यसभित्र स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षाकर्मी र पत्रकार लगायत सरसफाईकर्मीहरुलाई एकै ठाउँमा राखेर सेवा सुविधाको व्यवस्थापन र त्यही खालको समतामुलक व्यवहार गर्नुपर्छ भन्ने आग्रह गरेका छौँ ।’