चेल्सीलाई हराउँदै बार्सिलोनाले जित्यो महिला च्याम्पियन्स लिगको उपाधि

एजेन्सी । बार्सिलोनाको महिला फुटबल टिमले च्याम्पियन्स लिगको उपाधि जितेको छ। आईतबार राति इङ्लिस क्लब चेल्सीलाई पराजित गर्दै बार्सिलोनाले उपाधि कब्जा गरेको हो।

स्पेनिस क्लब बार्सिलोनाको महिला टिमले चेल्सीमाथि ४–० को जित निकाल्यो। चेल्सीको पुरुष टिम शनिबार रातिमात्र एफ ए कपको फाईनलमा लेस्टर सिटीसँग पराजित भएको थियो। त्यसको भोलिपल्ट महिला टिमले च्याम्पियन्स लिगको उपाधि गुमाउन पुग्यो।

बार्सिलोनाले पहिलो मिनेटमै मेलानी ल्युपोल्जको आत्मघाति गोलमा अग्रता बनाएको थियो। खेलको १४ औं मिनेटमा एलेक्सिया पुटेलसले पेनाल्टीमार्फत बार्सिलोनाको अग्रता दोब्बर बनाईन्। एटाना बोनमतीले २१ औं मिनेटमा बार्सिलोनाका लागि तेस्रो गोल गरिन्। कारोलिनी ग्राहम हेनसेनले स्पेनिस क्लबका लागि चौथो गोल गरेकी थिईन्।

पहिलो हाफको ३६ मिनेट भित्र बार्सिलोनाले चेल्सीको पोस्टमा चार गोल गरिसकेको थियो। त्यसपछि दुवै तर्फबाट थप गोल हुन सकेन। बार्सिलोनाको महिला टिमले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्यो ।

सन् २०१९ को च्याम्पियन्स लिगको फाईनलमा बार्सिलोना फ्रान्सेली क्लब लियोनको हातबाट ४–१ ले पराजित बनेको थियो। यस सिजन सुपर लिगसहित लिग कप उचालेको चेल्सीले च्याम्पियन्स लिगमा नमिठो हार ब्यहोर्यो।

चेल्सी पहिलो पटक च्याम्पियन्स लिगको फाईनल पुगेको थियो। चेल्सीको पुरुष टिम समेत च्याम्पियन्स लिगको फाईनल पुगेको छ। उसले प्रिमियर लिग विजेता म्यान्चेष्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ।

Leave a comment

Your email address will not be published. Required fields are marked *