ठाडी भाका : भीरपाखामा बिर्सिइँदै, परदेशीले खोज्दै !

काठमाडौं ।​ सुदूर तथा मध्यपश्चिम क्षेत्रका पाखा-पखेरामा गुञ्जिने ठाडी भाका एक प्रमुख संस्कृति हो । लामो स्वर तानेर गाइने हुनाले ‘ठाडी’ नाम दिइएको यो भाकालाई देउडाको एक विधा मानिन्छ ।

भीर, पाखा, गोठालो जाँदा गाइने हुनाले यसलाई ‘गोठाले गीत’ पनि भनिन्छ। समाजको अगाडि गाउन लाज मान्ने भएकाले यस गीतमा बाजा बजाइँदैन । यद्यपी; यसको आफ्नै पहिचान, अस्तित्व र महत्व छ ।

रोउ भन्या रमिता हुन्या, कसो गरि हाँसु
घर बग्या, वन बग्या, बम्बै बग्या आँसु,
रौं भन्या रमिता हुन्या, कसो गरि हाँसु ।
मैलानी पुलिसले लियो, हाड छाला र मासु
घर बग्या, वन बग्या, बम्बै बग्या आँसु
घर बग्यो घरिबारी, बम्बै बग्या आँसु ।

ठाडी भाकामा यो गीत गायक राजाराम भाटले २०६० सालतिर गाएका हुन् । सुदूर तथा मध्यपश्चिका मानिसहरूको जिब्रोमा यो गीत अहिले पनि झुण्डिएको छ, कण्ठस्थ छ । गीतको पहिलो हरफले भने झैं-घरमा पनि आँसु बगे, वनमा पनि !

त्यसपछि बम्बईमा पनि आँशु बगे। गीतको भावले जताततै दुःख र पीडा छ, आँसु बगेका छन् भन्ने बताउँछ । त्यो भावलाई अर्को लाइनमा ‘रौं भन्या रमिता हुन्या, कसोगरि हाँसु!’ भन्नुको अर्थ ‘रोएपछि दुनियाँलाई रमिता हुन्छ, कसरी रुन सकुँ’ भन्ने वेदना पोखिएको छ ।

यहि गीतमा ‘मैलानी पुलिसले लियो, हाड छाला र मासु’ भन्ने कुरालाई भारतमा काम गर्दा प्रहरीको कुटाइबाट हाड, छाला, र मासु पीडाग्रस्त भएको छ भन्ने दुःख पोखिएको छ । यहि हरफको अर्को लाइनमा घरमा घरबारी बगेको र बम्बईमा मा आँसु बगेका पीडालाई गायक भाटले शब्दमा उतारेका छन्। यो गीत भारतमा काम गर्दै आएका हरेकले आफ्ना पीडा समेटिएको गीत ठान्छन् उनी ।

गायक भाटले यस्ता थुप्रै गीतमा आवाज भरेका छन् । ठाडी भाकामा एकताका एकलौटी राज गरेका राजारामले विगत ८-१० वर्षयता यस्तो भाकामा गीत रेकर्ड गराएका छैनन् । उनले किन लामो समयसम्म ठाडी भाकालाई परै राखे त ? अहिले ठाडी भाका सुन्ने श्रोताको संख्या पहिले जस्तो छैन। एउटा गीत रेकर्ड गर्न ठूलो रकम आवश्यक पर्छ । तर, ठाडी भाका सुन्ने श्रोता संख्या घटिरहेको छ। त्यसैले आफूले यो भाकालाई निरन्तरता दिन नसकेको उनले सुनाए ।

ठाडी भाकामात्रै गाएर कलाकार स्थापित हुने समय नभएको र आर्थिक संकट टार्न सकिने अवस्था नरहेकाले ठाडी भाका गाउने गायकले यसलाई प्राथमिकतामा नराखेको उनको भनाइ छ । राजारामले भने, ‘सांस्कृतिक कार्यक्रम, मेला, महोत्सवमा ठाडी भाका गाउने कलाकारलाई स्थान नदिइनु र लगानीका लागि जोखिम र नयाँ पुस्ताले चासो राख्न छोडेपछि यस्ता गीत रेकर्ड हुन छाडे ।’

ठाडी भाका गायकले शान्त र एकान्त ठाउँमा बसेर गाउँछन् । यसमा गायक एकल वा युगल हुनसक्छन् । वनजंगल जाँदा गीत गाएर आफ्नो मनको विरह पोख्नु यसको विशेषता हो । डिजे, पप र र्‍यापको जमानाले यो भाका ओझेल परेको छ। लोक कविहरूले सुन्दै रच्दै, पुस्तान्तरण गर्दै आएको ठाडी भाकालाई संगीतको साथ चाहिँदैन । ठाडी गाउँदै आएका कलाकारले नै यसलाई छाड्न थालेपछि नयाँ पिंढीले यसबारे त्यति चासो नदिएका हुनसक्ने पनि उनले सुनाए ।

देउडा गायिका शोभा थापा पनि यसको संरक्षण गर्नुपर्नेमा जोड दिन्छिन् । खासगरी मुलुकमा​ पछिल्लो समय भइरहेका विभिन्न सांस्कृतिक कार्यक्रम, मेला, महोत्सवमा ठाडी भाका गाउने कलाकारलाई स्थान नदिइनु र सञ्चार माध्यममा पनि यसले प्राथमिकता नपाउँदा महत्व घट्दै गएको उनलाई लागेको छ ।

काठमाडौंस्थित विशेष फिल्मस् रेकर्डिङ स्टुडियोकी सञ्चालकसमेत रहेकी गायिका थापा कलाकारलाई ठाडी गाउन सुझाउँछिन् । देउडाकै विधाभित्र पर्ने ठाडी समग्र आफ्नो संस्कृति र कलाको संरक्षण गर्न पनि यसले ठूलो अर्थ राख्ने उनको भनाई छ।

यता युवा पुस्ता माझ रुचाइएकी गायिका रेखा जोशी पनि ठाडि भाका पहिलेको तुलनामा अहिले केही ओझेलमा परेको स्वीकार गर्छिन् । गायिका जोशीको बुझाइमा अहिले ठाडी भाका प्राय विदेशमा रहेका नेपाली केही रुचाउने गरेका छन् ।

पछिल्लो समय ठाडी भाकाको संरक्षणमा पहल नभएको उनले बताइन् । ‘यो परापूर्व कालदेखि चलिआएको नेपालको एक संस्कृति हो, तर अहिले संरक्षण गर्नुपर्ने भइसकेको छ’, उनले सुनाइन् । उनको आवाजमा हजारौं देउडा गीत छन् । उनले ठाडी भाका पनि उत्तिकै गाउँदै आएकी छिन् ।

आफ्ना पीडा र वेदना समेटिनेगरी परदेशमा रहेका नेपालीले ठाडी भाका रेकर्डका लागि आफूलाई माग गर्ने गरेको उनी सुनाउँछिन् । ‘अहिलेको अवस्थामा कस्तो छ भने युवा पिंढी डिजे र पपमा रमाउन खोजिरहेका हुन्छन्, विशेषगरि हाम्रा बाआमाको पिंढीले ठाडी भाका एकदमै सुन्छन् र मन पराउँछन्,’ उनले भनिन् । पुराना पुस्ताका गायकले ठाडी भाका गाउन छाडेको उनले सुनाइन् । ‘ठूलो लगानी लगाएर गीत रेकर्ड गरेपनि त्यसको व्यवस्थापनको पाटो सहज नभएकाले गीत नगाएको हुनसक्ने उनी तर्क गर्छिन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!