त्रिकोणात्मक टि-२० क्रिकेट : पहिलो खेल आज नेपाल र नेदरल्याड्स खेल्दै

काठमाडौं । नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीच हुने त्रिकोणात्मक टि–२० क्रिकेट सिरिजको पहिलो खेल आज नेपाल र नेदरल्याड्सबीच हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल डवल राउन्ड रोविनको आधारमा हुनेछ । उक्त प्रतियोगिता शीर्ष दुई टोली उपाधिका लागि खेल्ने छन्। फाइनल खेल वैशाख ११ गते हुने छ ।
नेपालले ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ । टोलीमा मल्ल बाहेक दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप जोरा, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, कुशल
भुर्तेल, साहब आलम, कमलसिंह ऐरी र सुशन भारी रहेका छन् । क्यानका प्रबन्ध निर्देशक रौनक मल्लले कोरोना भाइरसको महामारीलाई ध्यानमा राख्दै सीमित दर्शकलाई मात्र मैदानमा दर्शकका रुपमा प्रवेश दिइने बताए ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का घाइते भएपछि उनको स्थानमा सन्दीप जोरालाई खेलाइने भएको छ। खड्का आइतबार अभ्यासको क्रममा घाइते भएका हुन्। उनी खेल्न असमर्थ भएपछि युवा खेलाडी जोरालाई टोलीमा समावेश गरिएको क्यानले जनाएको छ ।
पारसको फिल्डिङ गर्नेक्रममा खड्काको काँधमा चोट लागेको थियो। चिकित्सकले खड्कालाई केही साता आराम गर्न सल्लाह दिएका छन् । जोराले सन् २०१९ मा यूएइविरुद्धको टि २० खेलमा डेब्यू गर्दै विश्व कीर्तिमान बनाएका थिए। उनले उक्त खेलमा १७ वर्ष १०३ दिनको उमेरमा अविजित ५३ रन बनाएका थिए। जोराको नाममा टि २० मा कम उमेरमा अर्धशतक बनाउने कीर्तिमान छ ।






