शिक्षामा लगानी बढाऊ

विकास र समृद्धिका लागि केही पूर्व शर्त छन् । ती भनेका विकासका आधार अर्थात पूर्वाधार हुन् । विकासका पूर्वाधार मध्ये शिक्षा सबैभन्दा महत्वपूर्ण छ । किनकी शिक्षाले मानिसको चेतानास्तर बढाउँछ । त्यतिमात्र होइन, यसले व्यक्तिको क्षमता पनि बृद्धि गर्दछ ।
यही कारण त आज संसारभर शिक्षालाई पहिलो प्राथमिकता दिने गरिएको छ । शिक्षाको उज्यालो प्रकाश पाएकै कारण आज विश्वमा ठूला वैज्ञानिक आविस्कार र चमत्कारहरु भएका छन् । तर पनि नेपालको सन्दर्भमा भने शिक्षा पाउने अधिकारबाट धेरै नागरिक बञ्चित भइरहेका छन् ।
अर्थात अधिकांश नागरिक अहिले पनि विभिन्न कारणले शिक्षा पाउन सकिरहेका छैनन् । यसको असर कर्णालीमा धेरै परेको छ । कर्णालीमा आर्थिक अभाव, भौगोलिक विकटता र राज्यको कम लगानीका कारण आज धेरै बालबालिकाहरु विद्यालय शिक्षाबाट बञ्चित भइरहेका छन् । त्यतिमात्र होइन, पछिल्लो समय कर्णालीलाई साक्षर बनाउनका लागि थालिएको साक्षरता अभियान पनि अलपत्र परेको छ ।
जबकी साक्षरता अभियान संचालन गर्न भन्दै करोडौं लगानी भइरहेको छ । राजनीतिक अस्थिरता र सरकारी वेवास्ताका कारण शिक्षामा लगानी अपेक्षा अनुसार हुन सकेको छैन । पछिल्लो समय कोरोना महामारीका कारण पनि विद्यार्थीहरुले सहज रुपमा शिक्षा लिन पाएका छैनन् । यस्तो अवस्थामा स्थानीय, प्रदेश र केन्द्र सरकारको प्राथमिकतामा शिक्षा पर्न सकेको छैन ।
बरु कोरोना र अन्य वहाना देखाएर शिक्षामा लागनी घटाउन थालिएको छ । यसले शैक्षिक पूर्वाधार र गुणस्तर सुधार गर्न सकस भइरहेको छ । कर्णाली सरकार गठन भएपछि प्रदेशलाई दुई वर्षभित्र साक्षर प्रदेश बनाउने घोषणा गरेको थियो । तर त्यो अवधि सकिएको छ । कोरोना महामारीका कारण समयमै साक्षर प्रदेश घोषणा गर्न नसकिएको सरकारी भनाइ छ । तर पनि शिक्षामा भइरहेको कम लगानी र वेवास्ताका कारण प्रदेशलाई साक्षर घोषणा गर्न समस्या भइरहेको हो ।
गाउँमा सडक खनेकोलाई मात्र विकास ठान्ने संस्कारका कारण शिक्षा क्षेत्रमा बजेट लगानी अपेक्षा अनुसार हुन सकेको छैन । सडक निर्माण हुनु वा गाउँमा कुनै भवन बन्नु मात्र विकास होइन । विकास त्यो पनि हो, जहाँका नागरिक सचेत र क्षमतावान भइ आन्तमनिर्भर बनेका हुन्छन् ।
नागरिकलाई आत्मनिर्भर बनाउने मुख्य हतियार भनेकै शिक्षा हो । यसका लागि हरेक नागरिकले शिक्षा प्राप्त गर्न सक्नु पर्दछ । तर कर्णालीमा आर्थिक अभावकाका कारण धेरै बालबालिकाहरु अहिले पनि विद्यालय जाने समयमा मजदुरी गर्न बाध्य छन् ।
अर्कोतर्फ निरक्षर नागरिकलाई पनि साक्षरता कक्षामा सहभागि गराउन सकिएको छैन । यही समस्याका जालोमा यहाँको शिक्षा प्रणाली अल्झिएको छ । तसर्थ अब सबै तहका सरकारले अन्य पूर्वाधार र क्षेत्रमा जस्तै शिक्षा क्षेत्रमा पनि बजेट लगानी बढाउन आवश्यक छ ।
अनिमात्र शिक्षामा पूर्वाधार विकास र गुणस्तर पनि सुधार गर्न सम्भव हुनेछ । प्रविधिलाई पनि जोड्न सकिनेछ ।






