कोरोना संक्रमण बढेपछि रुपैडिया आवतजावतमा रोक

बाँके । बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ ।
छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि जानमा रोक लगाइनुका साथै भारतका विभिन्न शहरबाट घर फर्किने नेपालीलाई समेत नेपाल भारत सीमा क्षेत्र जमुनाहमा अनिवार्य कोरोना परीक्षण गर्न लगाइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।
उनले सीमा क्षेत्रमा आवतजावत तथा आवश्यक सतर्कता नअपनाइएको गुनासो आएपछि आज आफैँ सीमा क्षेत्रमा पुगेर स्वास्थ्य मापदण्डका सबै प्रक्रिया पूरा गराउन सुरक्षाकर्मीलाई आवश्यक निर्देशन दिएको बताए ।

उनका अनुसार, सीमानाकामा कडाइसँगै नेपालगञ्ज बजार क्षेत्रमा समेत मास्कको अनिवार्य प्रयोग र सामाजिक दूरी कायम गर्न प्रहरीले सक्रियता देखाएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र बाँकेको बैठकले अत्यावश्यकबाहेक आवतजावतमा रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बैठकले अत्यावश्यक कामबाहेक भारत जान रोक लगाउने, भारतबाट आएका व्यक्तिलाई स्वास्थ्य परीक्षणका लागि नाकामा जनशक्ति थप गर्ने, पालिकामा आइसोलेशन सेन्टर सञ्चालन गराउने, शिक्षण अस्पताल कोहलपुरमा कोभिड वडा सञ्चालन गर्ने, बाहिर निस्किँदा मास्क नलगाउनेलाई कारवाही गर्ने निर्णय गरेको जानकारी दिए ।






