ताइवानको आकाशमा चीनका लडाकु विमान र परमाणु बमबर्षक

एजेन्सी । ताइवानले आफ्नो वायु क्षेत्रमा चीनका दुई दर्जनभन्दा धेरै लडाकु विमान प्रवेश गरेको जानकारी दिएको छ ।
त्यहाँको रक्षा मन्त्रालयले सोमबार चिनियाँ जहाज आफ्नो आकाशमा उडेको जानकारी दिएको हो । प्राप्त जानकारीअनुसार २५ वटा चिनियाँ लडाकु जहाजहरू हवाइ प्रतिरक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका थिए ।
चीनले लडाकु विमान र परमाणु हतियार बोक्न सक्षम बमबर्षक पनि आफ्नो आकाशमाथि पठाएको ताइवानले दाबी गरेको छ ।
पछिल्लो एक वर्षभित्र भएको यो हवाइ अतिक्रमण अहिलेसम्मकै ठूलो भएको बताइएको छ । ताइवानलाई सहयोग गरिरहेको अमेरिकाले हालै चीनलाई यस्ता हर्कत नगर्न चेतावनी दिएको थियो ।

चीनले एक चीन नीतिअन्तर्गत ताइवानलाई आफ्नो हिस्सा भएको दाबी गर्ने गर्छ। तर ताइवानले आफू एक सम्प्रभु राष्ट्र भएको बताउने गरेको छ । सोमबार चीनले १८ लडाकू जेट, परमाणु हतियार बोक्नसक्ने चारवटा बमबर्षक विमान, दुईवटा एन्टी सबमरिन विमान र एउटा पूर्व चेतावनी संकलन विमान ताइवानको आकाशमा घुमाएको थियो
।






