घर जलेपछि पीडितको विचल्ली

सुर्खेत ।
घटना : १
सुर्खेतको बराहताल गाउँपालिका–९ को सिस्नेरी बस्तीमा बिहीबार दिउँसो आगलागी भयो । हरियाली सामुदायिक वनमा लागेको आगोले बस्तीका नौ घर जलेर नष्ट भए ।
वडाध्यक्ष युवराज कार्कीका अनुसार आठ घर पूर्णरूपमा जलेर नष्ट भएको र एउटा आशिंक रूपमा जलेका छन् । आगलागीबाट घर जलेपछि पीडितको ववचल्ली नै छ । वडाले तत्काल खाद्यान्न वितरण गरे पनि उनीहरुको वासस्थानको बन्दोबस्त हुन सकेको छैन ।

घटना : २
जाजरकोटको नलगाड नगरपालिका–८ मङ्सिरीमा गएको शनिबार आगलागी हँुदा ५ वटा घर जले । नौँधारी जङ्गलमा लागेको आगोले स्थानीय अम्मरबहादुर सिंह, खड्क सिंह, वेदराज सिंह, चन्द्रबहादुर सिंह र यज्ञबहादुर सिंहको घर पूर्णरुपमा नष्ट भए । राती आगलागी भएका कारण स्थानीयले जेनतेन ज्यान जोगाए ।
तर घरभित्र रहेको अन्नपात र लत्ताकपता खरानी भयो । भिरालो जमिन र अत्याधिक हावाहुरीका आगो नियन्त्रणमा बाहिर गयो । आगलागीपछि कोही आफन्तको घरमा शरण लिएका छन् भने कोही चौरामै त्रिपाल टाँगेर बसेका छन् । आगलागीपीडितलाई अहिले पेट भर्नसमेत समस्या छ । हिमालय आधारभूत विद्यालयका शिक्षक मनोज शर्माका अनुसार आगलागीपीडितले अहिलेसम्म राहत पाएका छैनन् ।
घटना : ३
शनिबार मात्र कालीकोट जिल्लाको पचालझरना गाउँपालिका– ८ खोलीबजार, भुराबगरमा आगलागी हुँदा ६ घर जलेर नष्ट भए । बालबालिकाले गहुँ पोलेर खानेक्रममा आगोले दुर्ग सार्की, बिरमान सार्की, भैरे सार्की, अति सार्की, धनराज सार्की र अमृते सार्कीको घर जलेर नष्ट भए ।
आगलागीपीडितलाई गाउँपालिकाले त्रिपाल र खाद्यान्न वितरण गरेको छ । तर पीडितको घर भने तत्काल बन्ने अवस्था छैन । जनता आवास कार्यक्रममार्फत पीडितहरूको घर निर्माणको पहल थालिने गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले बताए ।
तर जनता आवास कार्यक्रमले घर निर्माण गर्नु धेरै कानूनी झमेला छ । कानूनी झमेलाकै कारण पीडितले तत्काल घर पाउँदैनन् । घर नबन्दासम्म स्थानीयको विचल्ली हुने निश्चित छ । आगलागीपीडितको विचल्ली भएका उल्लेखित घटना केही प्रतिनिधि मात्रै हुन् ।
सुख्खा मौसमसँगै आगलागीका घटना बढ्दै गएका छन् । आगलागीबाट अहिलेसम्म सयौँ हेक्टर वनजंगल नष्ट भइसकेको छ । प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्या्क अनुसार प्रदेशभर आइतबारसम्म ८६ ठाउँमा आगलागी भएको छ । आगलागीबाट करोडौँको क्षति पुगेको छ । तर आगीका घटना बढ्दै गए पनि यसको नियन्त्रणका लागि सचेतना छैन ।
आगलागी भएको खण्डमा प्रदेश र स्थानीय तहसम्म पनि नियन्त्रणका साधनहरु छैनन् । बर्षेनी आगलागीबाट लाखौँ धनजनको क्षति हुँदासम्म प्रदेश र स्थानीय सरकारले पीडितका लागि आवास निर्माण गर्ने कार्यक्रमहरु छैनन् ।
दुबै सरकारसँग पीडितलाई राहत वितरण गर्ने बाहेक अन्य कार्यक्रम छैनन् । यही कारण आगलागीपीडितले महिनौसम्म विचल्ली खेप्नु परेको छ । वर्षेनी डढेलोबाट लाखौँको जनधनको क्षति भइरहँदा डिभिजन वन कार्यालयलहरुले भने डढेलो नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम ल्याउन सकेका छैनन् ।
डढेलो नियन्त्रणका लागि उपभोक्तालाई तालिम, डढेलो नियन्त्रण गर्ने औजारहरुको बन्दोबस्तो गर्न सकिएको छैन । डिभिजन वन कार्यालयहरुले वर्षाैँदेखि सचेतना, प्रचार–प्रसार जस्ता कर्मकाण्डी कार्यक्रम मात्रै गर्दै आएका छन् ।
डढेलो नियन्त्रणका लागि उपभोक्ता समूह, स्थानीय तह, जनप्रतिनिध र सुरक्षा निकाय नै सचेत र सक्रिय हुनुपर्ने डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख (डीएफओ) गोविन्दप्रसाद दाहाल बताउँछन् । योे पानी नपरेका कारण आगलागीका घटनाहरु वृद्धि भएको उनको तर्क छ । ‘हरेक वर्ष खडेरी मौसमा आगलागीका घटनाहरु हुन्छन्’ दाहाल भन्छन्, ‘तर यो वर्ष पानी नपरेका कारण देशैभर आगलागी बढेको छ ।’
सिस्नेरीका पीडितलाई राहत
यसैबीच सुर्खेतको सिस्नेरीका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । आगलागी भएको तीन दिनपछि पीडितलाई राहत वितरण गरिएको हो । शनिबार जिल्ला विपद् व्यवस्थापन समितिले पीडितलाई राहत स्वरुप ८५ हजार राहत वितरण गरेको हो ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन अध्यक्ष छविलाल रिजालसहितको टोलीले राहत वितरण गरेको हो । परिवार सदस्यका आधारमा पीडितलाई राहत वितरण गरिएको वडाध्यक्ष कार्कीले बताए । बराहताल गाउँपालिका–९ को सिस्नेरी बस्तीमा बिहीबार आगलागी भएको थियो ।
खरको छानोमुक्त बस्ती बनाउने डाक्टर केसीको प्रयास
यसैबीच प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले सिस्नेरी गाउँलाई खरको छानोमुक्त बनाउने प्रयास गरेका छन् । उनले डाक्टर रुपक कँडेल, डाक्टर सुसिल समदर्शी लगायतको सहयोगमा गाउँलाई नै पुग्नेगरी टिनका पाता उपलब्ध गराएको जानकारी दिए ।
आगलागीबाट गाउँ नै सखाप हुनसक्ने भन्दै डाक्टर केसीले गाउँलाई नै टिनको छाना लगाउने अभियान थालेका हुन् । बराहताल गाउँपालिका–९ को सिस्नेरी बस्तीमा कुल १८ घरपरिवार बस्छन् । ति मध्ये ९ परिवारको घर बिहीबार भएको आगलागीबाट खरानी भइसकेको छ ।






