गर्भवतीका लागि निमन्त्रणा कार्ड

हुम्ला, २६ पुस ।

हुम्लाको खार्पुनाथ गाउँपालिकामा गर्भवतीका लागि निमन्त्रणा कार्ड पठाउने व्यवस्था स्वास्थ्य शाखाले गरेको छ। गर्भवती महिला समूहको मासिक रुपमा बस्ने बैठकमा उपस्थित हुने वातावरण सृजना गर्न निमन्त्रणा कार्डको व्यवस्था गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको हो।

निमन्त्रणा कार्ड नै पाएर बैठकमा जाँदा खुशी लाग्ने गरेको खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ छिप्राकी बेलमति टमटाले बताइन्। यसअघि यस्तो समूह नभएको र बैठक पनि हुने गरेको थिएन।

सात महिनाकी गर्भवती उनले स्वास्थ्य स्वयं सेविकाहरुले उक्त कार्ड लिएर बैठकका लागि निम्ता दिन आउने गरेको बताइन्। खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाका संयोजक बलिराज शाहीका अनुसार गाउँपालिका भरिका सबै गर्भवतीलाई मासिक रुपमा हुने बैठकमा उपस्थित गराउनका लागि निमन्त्रणा कार्डको व्यवस्था गरिएको बताए।

यो व्यवस्था गाउँपालिकाका पाँच वटै वडाका स्वास्थ्य संस्थाहरुमा गरिएको छ। गर्भवतीको मासिक बैठक प्रत्येक महिनाको २८ गर्ते बस्ने गरेको छ। निमन्त्रण कार्डमा गर्भजाँच गराउन गएबाट र प्रसूति गृहमा सुत्केरी भए बापत पाउने सुविधाका कुरा पनि उल्लेख गरिएका छन्।

देशसञ्चारबाट साभार ।

Leave a comment

Your email address will not be published. Required fields are marked *