फोहोर व्यवस्थापनमा बर्सेनी लाखौं खर्च, उपलब्धी शुन्य (भिडियो रिपोर्ट)
चिन्तामणी कँडेल
सुर्खेत, २४ माघ ।
कर्णाली प्रदेशको राजधानी शहर रहेको वीरेन्द्रनगरमा फोहोर व्यवस्थापनमा चुनौती देखिएको छ । नगरको मुख्य बजार क्षेत्रमा हुने फोहोर व्यवस्थापनमा नगरपालिका असफल बनेको छ । बर्सेनी फोहोर व्यवस्थानमा लाखौं रकम खर्च भइरहेको छ । तर पनि नगरमा फोहोर व्यवस्थापन हुन सकेको छैन ।
बजार क्षेत्रलाई सुन्दर र सफा राख्न वीरेन्द्रनगर नगरपालिकाको एउटा वडाले मात्रै बार्षिक २५ लाखभन्दा बढी रकम खर्च गर्छ । तर त्यसको परिणाम भने शुन्य जस्तै छ । बजारको क्षेत्रको फोहोर व्यवस्थापनमा वीरेन्द्रगनर–६ को वडा कार्यालयले बार्षिक २५ लाख ८० हजार रुपैयाँ खर्च गर्दै आएको छ । घर–घरबाट फोहोर व्यवस्थापनका लागि भन्दै शुल्क पनि असुल्छ । तर खर्च अनुसारको फोहोर व्यवस्थापन भने हुन नसकेको हो ।
भिडियाे रिपाेर्टका लागि यहाँ क्लिक गर्नुहाेस :-
https://www.youtube.com/watch?v=29rket40R58&t=777s
सरसफाइ योजना प्रभावकारी रुपमा कार्यान्वयन हुन नसक्दा बजार क्षेत्रका नालाहरु फोहोरले भरिएका छन् । वडाले नालाको फोहोर नउठाएपछि कतिपय व्यापारीले भने आफै नाला सफा गर्दै आएका छन् । नगरलाई सुन्दर र स्वच्छ बनाउन भन्दै वीरेन्द्रनगर नगरपालिकाले बार्षिक एक करोड २० लाख रुपैयाँ फोहोर व्यवस्थापनका लागि खर्चिन्छ । जसमध्ये वडा नं. ६ अर्थात मुख्य बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि मात्र मासिक एक लाख ४० हजार रुपैयाँ खर्च हुन्छ । तर बजार क्षेत्रको अवस्थामा भने सुधार आउन सकेको छैन ।
नगरपालिकाले कार्यविधि नै बनाएर फोहोर व्यस्थापनमा जुटे पनि अवस्था फेरिएको छैन । नगरपालिकाका लेखा अधिकृत पूर्णप्रसाद गौतमकाअनुसार मुख्य बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि मात्र मासिक एक लाख ४० हजारका दरले बार्षिक २५ लाख ८० हजारु खर्च हुने गरेको छ । हाल यो रकम अपुग भएको भन्दै ७५ हजार रुपैयाँ थप गरिएको छ । तर मुख्य बजार क्षेत्रको फोहोर व्यवस्थापनको अवस्थामा भने सुधार आउन सकेको छैन । अझ भनौं नगरपालिकाले बर्सेनी फोहोर व्यवस्थापनमा खर्चने रकमको उपलब्धी शुन्य रहेको हो ।
सम्झौता कार्यान्वयन भएनन
द ग्रिनसिटी र वडा कार्यालयबीच वीरेन्द्रनगरको सरसफाइका लागि केही महत्वपूर्ण सम्झौता भएका छन् । सम्झौताअनुसार द ग्रिनसिटीले महिनामा दुई पटक बजारका नालाहरु सफा गर्नुपर्ने, वडाको क्षेत्रभित्र पर्ने सम्पूर्ण सडकखण्ड सफा गर्नुपर्ने, कार्यालयको क्षेत्रभित्र पर्ने स्थानमा मरेका पशु चौपायहरुको व्यवस्थापन गर्ने उल्लेख छ । तर सम्झौताअनुसार काम भएको पाँदैन । न ग्रिनसिटीले सम्झौता कार्यान्वयन गरेको छ, न त वडा कार्यालयले नै सम्झौता कार्यान्वयनका लागि पहल ।
सम्झौताको शर्त अनुसार ग्रिनसिटीले फोहोर संकलनका लागि टोल विकास संस्थाका घरधुरीलाई समय तालिका सार्वजानिक गरी सोही बमोजिम नै फोहोर संकलन गर्नुपर्छ । तर फोहोर बोक्ने गाडी भने कार्यतालिका अनुसार कहिल्यै फोहोर लिन आउँदैन । त्यस्तै सेवा प्रदायक संस्थाले उत्कृष्ट कार्य गरेका पुरस्कार दिनेदेखि सन्तोषजनक कार्य नभएमा दण्ड जरिवाना गर्नेसम्मका शर्तहरु राखिएको छ । दण्ड र पुरस्कारको .शर्तहरु पनि दुबै पक्षले पुरा गरेका छैनन् ।
सरसफाइ कार्ड केवल रकम असुल्ने हतियार
नगरपालिकाको मुख्य बजार क्षेत्रको फोहोर सफा गर्ने भन्दै वडा नं. ६ को कार्यालयले मासिक रुपमा सरसफाइ वापतको शुल्क उठाउँछ । स्थानीय नागरिक तथा व्यापारीबाट वडा कार्यालयले मासिक ५० रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म असुल्छ । तर शुल्क असुले पनि वडा कार्यालयले बजार क्षेत्रको फोहोर व्यवस्थापन र नालाहरुको सफाइमा कुनै चासो दिएको छैन ।
स्थानीयको घरबाट निस्कने फोहोर हप्तौंसम्म सडकमा जम्मा हुन्छ । तर उक्त फोहोर बोक्ने गाडी पनि तालिका अनुसार आउँदैन । यसकारण पनि वडा कार्यालयले स्थानीयलाई बाँडेको सरसफाइ कार्डलाई केवल रकम अशुल्ने हतियारको रुपमा मात्र प्रयोग गरेको स्थानीयको आरोप छ । ‘सरसफाइ शुल्क नतिरेसम्म वडा कार्यालयले सेवा रोक्का गरिदिन्छ, तर पैसा उठाएर नाला र सडक कहिल्यै सरसफाइ गर्दैन’ स्थानीय कृष्णप्रसाद ज्ञवाली भन्छन्, ‘सफाइ कार्ड त पैसा अशुल्ने हतियार मात्रै भयो ।’
सडक सरसफाइ नगर्दा बिक्रीका लागि राखिएका बस्तुहरुमा फोहोर जमेर हैरान भएको भनाइ छ । फोहोरबाट सामान बचाउन त्रिपाल लगाए पनि नगरपालिकाले हटाइदिने गरेको उनको गुनासो छ । ज्ञवाली मात्रै होइन, दैनिक सडक सरसफाइ नहुँदा वीरेन्द्रनगरका व्यापारीहरुले धुलोबाट सास्ती खेप्दै आएका छन् ।
सडक सरसफाइ गर्न पटकपटक आग्रह गर्दा पनि वडा कार्यालयले वास्ता नगरेको व्यापारीहरुको आरोप छ । सडक सरसफाइ नगर्दा बिक्रीका लागि राखिएका सामान र स्वास्थ्यमा गम्भीर असर पर्ने व्यापारीहरुको गुनासो छ । यता वीरेन्द्रनगर वडा नं. ६ को कार्यालयले सरसफाइमा कुनै कसुर बाँकी नराखेको दाबी गरेको छ । द ग्रिनसिटी सेनिटेशन सेवा नेपाल नामक संस्थालाई सरसफाइको सम्पूर्ण जिम्मेवारी सुम्पीएको वडा कार्यालयको भनाइ छ । वडा कार्यालयले फोहोर व्यवस्थापनको लागि द ग्रिनसिटीसँग चार बर्षे कार्यसम्झौता गरेको छ ।