आहा-रारा गोल्ड कप भोलिदेखि सुरु हुँदै

पोखरामा आयोजना हुँदै आएको चर्चित फुटबल प्रतियोगिता आहा–रारा गोल्ड कपको १९औं संस्करण शनिबारदेखि सुरु हुँदैछ ।
पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा क्लब र विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच हुनेछ । उक्त खेल पहिलो क्वार्टर फाइनल हो। सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाका अनुसार उद्घाटन खेल दिउँसो २ बजे हुँदैछ ।

चैत २२ मा ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएसन, डाउला क्यामरुनबीच खेल प्रतिस्पर्धा हुनेछ। चैत २३ मा तेस्रो क्वार्टर फाइनल खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच तथा चौथो क्वार्टर फाइनल खेलमा थ्री स्टार क्लब र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
चैत २५ मा पहिलो सेमीफाइनल खेल हुनेछ। उक्त खेल २१ गते हुने सहारा र एपीएफबीचको विजेता तथा २३ गते प्रतिस्पर्धा गर्ने संकटा र मनाङ मर्स्याङ्दीबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै‚ चैत २६ मा हुने दोस्रो सेमीफाइनल खेलमा २२ गते खेल्ने मच्छिन्द्र र अफ्रिकन रुट एशोसियसनबीचको विजेता तथा थ्री स्टार र नेपाल पुलिस क्लबबीचको विजेता टोलीको बिचमा खेल हुनेछ। गोल्ड कपको फाइनल खेल चैत २८ गते हुने छ ।
१९ औँ संस्करणमा मनाङ मर्स्याङ्दी क्लब, नेपाल पुलिस क्लब, थ्रिस्टार क्लब, एपिएफ क्लब, संकटा क्लब, मच्छिन्द्र क्लब, सहारा क्लब र अफ्रिकन रुट डउला क्यामरुन गरी आठ टोली सहभागी छन् ।
गोल्ड कपको उद्घाटन समारोहमा ‘सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी–२०७७’ बाट नगद ३५ हजार रुपैयाँसहित राष्ट्रिय टोलीका फरवार्ड अभिषेक रिजाललाई सम्मान गरिने कार्यक्रम छ। सहाराले हरेक वर्ष यस पुरस्कार प्रदान गर्दै आएको छ । अघिल्लो वर्ष राष्ट्रिय टोलीका कप्तान सुजल श्रेष्ठलाई सम्मान गरिएको थियो ।





