मुख्यमन्त्री कार्यालयमा वादी समुदायको धर्ना

सुर्खेत, १२ फागुन ।
जग्गाको माग गर्दै वादी समुदायले मुख्यमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन् । गास र बासको समस्या भएको भन्दै उनीहरु प्रदेश सरकारलाई दबाव दिन सुरु गरेका हुन् । दैलेखका वादी समुदाय पैदल हिँडेर सोमवार साँझ वीरेन्द्रनगर आइपुगेका हुन् । आफूहरुलाई छाक टार्न समस्या भएको, स्थायी बसोबास नभएको र जीवन निर्वाह गर्नै समस्या भएपछि बाध्य भएर आन्दोलन गर्न सुर्खेत आएको दुल्लु नगरपालिका–१ दैलेखका हिक्मत वादीले बताए ।

दैलेखबाट जग्गा माग्दै सुर्खेत आएका उनीहरुले जग्गा नपाएसम्म घर नफर्कने अडान लिएका छन् । दैलेखको डुङगेश्वर गाउँपालिका–२ की गोरी वादीले भनिन्, ‘गाउँमा न काम छ, न खाने गास छ । अब सरकारले गास र बासको ग्यारेन्टी नगरेसम्म घर फर्किन्नौ ।’ मादल र सुल्पाहरु बिक्नै छोडेको र सरकारले गिट्टी बालुवा खन्न पनि रोक लगाएपछि भोकभोकै मर्नुपर्ने अवस्था आएको उनको दुखेसो छ । भोकभोकै मर्नुपर्ने अवस्था आएपछि आफूहरु आन्दोलन गर्न सुर्खेत आएको उनले सुनाइन् ।

‘पुरानो पेशा नै गरेर बाँच्न सक्ने अवस्था छैन, सरकारले रोजगारी दिएको छैन’ वादी अधिकार संघर्ष समितिका अध्यक्ष प्रेम वादी भन्छन्, ‘मर्नु परे बरु यही मर्छाैं, तर जग्गा र स्थायी बासस्थानको ग्यारेन्टी नहुँदासम्म गाउँ फर्कदैनौँ ।’ आफ्नो नाममा एक टुक्रा पनि जग्गा नहुँदा पेट भर्न धौ–धौ परेको उनी बताउँछन् ।

दैलेखमा मात्रै होइन, कालिकोट, जुम्ला र सुर्खेत लगायतका वादी समुदाय व्यवस्थित बसोबासको माग गर्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्नामा बसेका छन् । सरकारले खेती गर्न स्थायी लालपूर्जासहितको जमिन दिनुपर्ने, स्थायी बसोवासका लागि घरको व्यवस्था गर्नुपर्ने र रोजगारी दिनुपर्ने उनीहरुको माग छ ।

मंगलबार दिउँसोसम्म कालिकोट र दैलेखबाट चारसय दुईजना वादी समुदायका नागरिकहरु सुर्खेत झरेका छन् । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले प्रदेश सरकारले जग्गा उपलब्ध गराउन नसक्ने बताए । ‘प्रदेश सरकारसँग भूमिको कुनै पनि अधिकार छैन’ भण्डारीले भने, ‘अधिकार नै नभएपछि प्रदेश सरकारले वादी समुदायलाई जग्गा उपलब्ध गराउन सक्दैन ।’

मुख्यमन्त्री कार्यालयमा वादी समुदायको धर्ना

भेरीगंगामा धनुबास जेसिज नमुना गाउँ घोषणा

मुख्यमन्त्री कार्यालयमा वादी समुदायको धर्ना

अनलाइनको समाचारप्रति ध्यानाकर्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *

This will close in 0 seconds