लिग फुटबलमा इब्राहिमोभिचको ४०० गोल

स्विडेनका एसी मिलान फर्वार्ड जाल्टन इब्राहिमोभिचले लिगमा ४०० गोल गरेका छन्। इटालियन सिरी ए फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा एसी मिलानले रोमालाई २(१ ले पराजित गर्दा इब्राहिमोभिचले गोल गरे।
अवे मैदानमा भएको खेलमा एसी मिलानलाई जिताउन जाल्टन इब्राहिमोविचले २५औँ मिनेटमा गोल गरेका थिए। थप अर्को गोल केसिएले ५७ औँ मिनेटमा पेनाल्टीमार्फत गरे।
इब्राहिमोभिचले लिग प्रतिस्पर्धामा ४० वर्षे उमेरमा गोल गर्दै समग्र लिगमा ४०० गोल गरेका हुन्। ६६ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएर हर्नान्डेज मैदानबाहिर गएपछि एसी मिलान १० खेलाडीमा सीमित भए पनि जित आत्मासात् गरेको थियो।






