संस्कृति संरक्षणमा जुटे रिब्दिकोटका युवा

रंगिविरंगी मानिस। निकै उत्साहित। आफ्नो समुदायको धर्म, परम्परा र संस्कृतिको पहिचान दिने खालका भेषभुषमा सजिएका । काँधमा ढोलक र मादल बोकेर बजाइरहेका । ठूलाठूला स्वरमा गीत गाइरहेका। पुरानाशैलीका खैंजडी ठोकिरहेका। नौमति बाजा पनि घन्किएका ।
जहाँ उनीहरू आफैँ रमाएका थिए। र सयौं दर्शकलाई रमाइलो गराइरहेका थिए । यो दृष्य थियो रिब्दीकोट गाउँपालिका ४ भैरवस्थानस्थित भैरव मन्दिरमा आयोजना गरिएको सांस्कृतिक महोत्सवको । महोत्सवमा युवाले निकै रमाइलो गरिरहेका थिए। हेर्दा यो महोत्सव अलिक पृथक् थियो । किनकि पुराना बजागाजा घन्किएका थिए। र पुराना गीत नै गुन्जिएका थिए ।

महोत्सवमा लाखे नाच, फागु नाच, पुराना भाकामा तीज गीत गाएका थिए । भजन किर्तन, असारे भाका, नौमती बाजासमेत प्रस्तुत गरिएको थियो। कार्यक्रममा अधिकांश युवाको सहभागिता थियो । बुढापाकाले पनि साथ दिएका थिए । स्थानीय संस्कृति प्रदर्शनमा युवाले पनि पुराना गीत गाउने, ढोलक, खैजडी, मादल, मजुरा बजाएका थिए ।
युवा र वृद्धवृद्धाले सँगै स्वर मिलाएर गीत गाएका थिए। विभिन्न संस्कृति झल्किने बाजागाजाहितको झाँकी र्यालीले भैरवस्थानका विभिन्न बजार परिक्रमा गरेको थियो । ¥याली मन्दिर परिसरमा पुगेर सभामा परिणत भएको थियो । लोप हुन थालेका पुराना संस्कृति संरक्षणका लागि महोत्सव नै आयोजना गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले बताए ।
युवा पुस्तामा पूराना संस्कृति हस्तान्तरण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो। सात दिनसम्म चलेको महोत्सव मंगलबार सकिएको छ । यस्तोखालको महोत्सव वार्षिक रुपमा संचालन गरिदैं आएको अधिकारीले बताए । यहाँका संस्कृति र सम्पदाको इतिहासबारे पुस्ता हस्तान्तरण र प्रचार प्रसार गर्न महोत्सवले सहयोग पुगेको गाउँपालिका अध्यक्ष नारायणबहादुर जिसीले बताए। ‘यो गाउँपालिका धार्मिक पर्यटकीय क्षेत्र हो।
ऐतिहासिक महत्व बोकेका स्थानीय कला र संस्कृतिले भरिपूर्ण छ’ उनले भने ‘आर्थिक स्रोतमा टेवा पुग्ने यहाँको संस्कृति र धार्मिक स्थलको संरक्षण गर्न गाउँपालिकाले विशेष योजना बनाएर अगाडि बढेको छ ।’ यो अभियानलाई सफल पार्न यहाँका युवालाई सचेत र सहभागी बनाउने जिसीले बताए ।
धार्मिक पर्यटकीय संभावना बोकेको भैरवस्थान मन्दिरको थप प्रचार प्रसार गर्न महोत्सवले सहयोग गरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले बताइन्। उनले भनिन् यस गाउँपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न भैरव मन्दिर र जलेश्वर मन्दिरमा अहिले विभिन्न संरचना निर्माण तथा मर्मत गर्ने काम भइरहेको छ। यी संरचना बनेपछि यहाँ धार्मिक पर्यटकको थप आकर्षण बढ्ने उनले दाबी गरिन् ।
महोत्सवका अवसरमा सरसफाई, रक्तदान, पालिका स्तरीय भलिबल प्रतियोगिता, सेन वंशीय इतिहास सम्बन्धि अन्तक्र्रिया, पालिका स्तरीय खुला लोकनृत्य प्रतियोगिता, फागुको अवसरमा चीर पोल्ने कार्यक्रम गरिएको थियो ।






