हजारको नोटमा जुम्ल्याहा हात्ती
काठमाडौं : नेपाल राष्ट्र बैंकले ३ खर्ब १० अर्ब रुपैयाँका नयाँ नोट छाप्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । राष्ट्र बैंकले हजार रुपैयाँकामात्रै ३१ करोड थान अर्थात ३ खर्ब १० अर्ब रुपैयाँका नयाँ नोट छाप्न लागेको हो ।
यी नोटहरु छाप्नका लागि राष्ट्र बैंकले गत असोजमा टेण्डर आह्वान गरेको थियो । टेण्डर प्रक्रिया सम्पन्न भई चीनको चाइना बैंक नोट प्रिन्टिङ एण्ड माइनटिङ कर्पोरेशनसँग सम्झौता समेत गरिसकेको छ । ३१ करोड थान हजारका नोट छाप्नका लागि ९१ लाख ९० हजार अमेरिकी डरलमा सम्झौता भएको राष्ट्र बैंकले बताएको छ ।
राष्ट्र बैंकके यसबाहेक पनि नयाँ नोट छाप्ने प्रक्रिया सुरु गरेको छ । केही दिन मात्रै राष्ट्र बैंकले ५, १० र पाँच सयको नयाँ नोट छपाइ प्रस्ताव आह्वान गरेको थियो । बैंकले ५ रुपैयाँको ३० करोड थान, १० रुपैयाँको ३४ करोड थान तथा ५ सयको १९ करोड थान नयाँ नोट छपाइ गर्न लागेको हो ।
नयाँ नोटको डिजाइन छपाइ र आपूर्तिका लागि विदेशी कम्पनीहरुसँग टेण्डर आह्वान गरिएको छ । तर यो प्रक्रिया सुरु भए पछि छापिन भने करिब एक वर्ष लाग्ने राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।