त्रिविका माईक्रोबायोलोजिष्ट कर्णालीमा
सुर्खेतं, १२ बैशाख ।
कोरोना भाइरस रोगको परीक्षणका लागि प्रयोगशाला स्थापना गर्न त्रिभुवन विश्वविद्यालयका चार माइक्रोबायोलिष्ट कर्णाली पुग्नुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका राज्यमन्त्री नवराज रावतको पहलमा त्रिबी माईक्रोवायोलोजि विभाग प्रमुख सह प्रा.डा.मेघराज बन्जाराको नेतृत्वमा सह प्रा.डा देवराज जोशी, अनिल शाह र बिराज लोहनी कर्णाली प्रदेशको राजधानी सुर्खेत पुग्नुभएको छ ।
उहाँहरु आरटि पीसीआर मेशिनसहित ल्याब सञ्चालन गर्न आवश्यक पर्ने सम्पूर्ण सामग्रीसहित सुर्खेत आउनुभएको हो । विभाग प्रमुख सह प्रा.डा. बन्जाराले कोरोना विरुद्धको लडाँइमा सहभागि हुन पाउदा आफुहरु निकै उत्साहित रहेको बताउनुभएको छ । उहाँले कोरोना परीक्षणका लागि माइक्रोबायोलोजिष्टहरुको भुमिका महत्वपुर्ण हुने भएकाले त्रीबीमा अध्ययन गरेका माईक्रोवायोलोजिष्टलाई अस्थाई भएपनि लाइसेन्स उपलब्ध गराई परीक्षणमा खटाउनुपर्नेमा जोड दिनुभयो ।
कोरोना भाइरस संक्रमण जाँच्ने ठूलो क्षमताको आरटीपीसीआर मेशिन सुर्खेत आईपुगेको छ । बिहीबार उक्त मेशिन नेपाली सेनाको जहाजबाट ल्याएसँगै कोरोना भाइरस संक्रमणको सम्पूर्ण परीक्षण तथा उपचार अब सुर्खेतमै सम्भव भएको हो । जर्मनमा बनेको कोरोना भाइरस जाँच्ने ठूलो क्षमताको आरटीपीसीआर मेशीन बिहीबार सुर्खेतमा ल्याई प्रदेश अस्पताललाई हस्तान्त्रण गरिएको छ । सुर्खेतका प्रतिनीधि सभा सदस्य तथा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतको पहलमा मेसिन, स्वास्थ्य सामाग्रीसहित स्वास्थ्यकर्मीको टोली सुर्खेत आएर कार्यक्षेत्रमा खटिएको छ ।
‘अब ‘क्रस भेरिफिकेशन’को काम प्रदेश अस्पताल सुर्खेतमै हुन्छ, यसअघि सुर्खेतमा रहेको पीसीआर विधिबाट कोभिड–१९ परीक्षण गर्ने गरिएको भएपनि अन्तिम टुङ्गो लगाउन ‘क्रस भेरिफिकेशन’ गर्न भन्दै संक्रमण देखिएका व्यक्ति र अन्य केही नमुना अन्तिम काठमाण्डौं पठाउनु पर्ने बाध्यता रहेको थियो,’ सामाजिक विकास मन्त्री दल रावलले भने, ‘अहिले ल्याईएको ठूलो क्षमताको आरटीपीसीआर मेशीनबाट दैनिक ९६ वटा नमूनाको परीक्षण सहजै गर्न सकिनेछ ।’ उनले त्यसअघि ल्याईएको सानो पीसीआर मेशीनबाट मुश्किलले दैनिक १० देखि १४ वटासम्मको नमूना जाँच गर्नु पर्नुपर्ने बाध्यता रहेको जनाए । मन्त्री रावलका अनुसार उक्त सानो पीसीआर मेशीनबाट गरिने जाँच नमूना पोजेटिभ आएपछि थप परीक्षणका लागि धनगढी र काठमाडौं पठाउँदा रिपोर्ट आउन समय लाग्ने गरेको थियो । नयाँ ल्याईएको ठूलो क्षमताको आरटीपीसीआर मेशिनबाट आउँदो आइतबारदेखि जाँच परीक्षण शुरु गरिने योजना रहेको छ ।
प्रदेश अस्पताल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट ठूला क्षमताका दुई वटा आरटीपीसीआर मेशिन कर्णालीमा सञ्चालनमा ल्याईएपछि कोरोना भाइरस संक्रमण जाँच्ने गतिमा थप तीव्रता आउने अपेक्षा राखिएको छ । कोरोना भाइरस (कोभिड–१९) को सम्पूर्ण परीक्षण कर्णाली प्रदेशमै हुने भएपछि यहाँका बासिन्दा समेत निकै खुशी भएका छन् । किट भन्दा आरटीपीसीआर मेसिन धेरै विश्वासिलो भएकाले यसको प्रभावकारिता फरक हुने स्वास्थ्य सेवा निर्देशनालयका ल्याब युनिट इन्चार्ज ओम आचार्यले बताए । उनले सुर्खेतस्थित प्रयोगशालामा परीक्षण गरिएकोमा सबै नमूना नेगेटिभ देखिएको जनाए ।