दैलेखमा १४ वटा ग्यास जफत
अमर सुनार
दैलेख : दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीको नेतृत्वमा प्रहरी निरीक्षक नैनबहादुर साउद र पत्रकार सहितको टोलीले ग्यास बिक्रेताको पसलहरु अनुगमन गर्दा दैलेख १४ वटा ग्यास जफत गरेको छ ।
कोरोना भाइरसको प्रभावले आयात कमी भएको बाहना बनाउदै व्यापारीहरुले ग्यास लुकाएर अभाव सिर्जना गर्ने, बढी मूल्यमा बिक्री गर्ने गरेको सिकायतका आधारमा प्रशासनले अनुगमन गरेको थियो । व्यापारीहरुले खाना पकाउने ग्यासको अभाव सिर्जना गराएको भन्ने उपभोक्ताहरुको सिकायतका पछि जिल्ला प्रशासन कार्यालय दैलेखले बिक्रेताहरुको पसल अनुगमन गरेको छ ।
अनुगमनको क्रममा तपाईको पसलमा ग्यास कति स्टक छ भनी सोधेर लिखित गराइसकेपछि दुई वटा ठूला पसलहरुबाट लुकाई राखेका १४ वटा ग्यास जफत गरेको हो । अनुगमन टोलीले श्रेष्ठ भाँडा पसलबाट ११ र एलिजा स्टोरबाट तीन वटा सिलिण्डर ग्यास जफत गरेको हो ।
हामीसंग स्टक छैन भनिसकेपछि पनि भेटिएका फेला परेका ती ग्यास जफत गरिएको र सो विषयमा कानूनी कारवाही अगाडि बढाइने दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए । विपदको समयमा अभाव सिर्जना गरेको विषयमा उभोक्ताको गुनासो आउनासाथ तत्काल अनुसन्धान गरी दोषी भेटिएमा कालाबजारी वा त्यो भन्दा कडा अर्को कुनै कानूनी व्यवस्था भए कारवाही गरिने प्रमुख जिल्ला अधिकारी कटेलले बताए ।