बौद्ध धर्मावलम्वीहरुको परम्परागत काठका भाँडा ओझेलमा
सुर्खेत, २ पुस ।
कोरोना भाइरस (कोभिड १९) का कारण बौद्ध धर्मावलम्वीहरुको परम्परागत काठका भाँडा ओझेलमा परेको छ । हुम्ला नाम्खा गाउँपालिकाका सोनाम छिरिङ लामाले संकलन गरेको कुकाँठ काठमाडौं पठाउनमा समस्या भएको बताए । संकलन गरेको कुकाँठ जिल्ला वन डिभिजन कार्यालय जारकोट र दैलेखले पूर्जी पत्र नदिँदा झन् समस्या भएको उनको भनाई छ ।
कुकाँठबाट उनले कटौरा र साघुँको फुरु बनाउने गर्छन् । जिल्ला वन डिभिजनले पूर्जी पत्र नदिँदा र कोरोना कारण काठ वनमा नै कुहिँदा उनलाई ६४ लाखको घाटा भएको छ । लामाले जाजरकोट र दैलेखबाट कुकाँठ संकलन गरी काठको भाँडा बनाउन काठमाडौं पठाउने गर्छन् । यो वर्ष भने पूँर्जी पत्र नपाउँदा उनले लाखौको नोक्सानी व्यहोर्नु परेको हो । उनी भन्छन्, ‘मैले वर्षको पाँच महिना मात्र कुकाठ संकलन गरेर भाडा बनाउन काठमाडौं पठाउने गर्छु, तर यो वर्ष कोरोनाका कारण केही समय पठाउन पाइन र अहिले जिल्ला वन डिभिजन कार्यालय जाजरकोट र दैलेखले पूर्जी पत्र नदिँदा लाखौको नोक्सानी भएको छ ।’
उनले पाँच महिनामा ७० हजार फाइदा गर्छन् । आदीबासी जनजातिको नाममा सरकारले विभिन्न कार्यक्रमहरु ल्याए पनि वास्तविक लक्षित समुदायसम्म नपुगेको उनको गुनासो छ । बौद्ध धर्मावलम्वीहरुको परम्परागत काठको भाँडालाई संरक्षण गर्न र सहज रुपमा कुकाठ स्थान्तरण गर्नका लागि कर्णाली प्रदेश सरकारले सहयोग गरिदिन उनले अनुरोध पनि गरे ।