सिटामोल लिन दिनभर पैदल

मुगु : घरमै सुत्केरी हुदाँ अत्यधिक रक्त श्राप भएर मुगम कार्मारोङ गाउँपालिका—१ चिताई गाउँकी ३५ वर्षीया पासङफुटिक तामाङको गत असार १८ मा ज्यान गयो । नजिकै स्वास्थ्य चौकी र उद्दारका लागि आफन्त नभएपछि उनले अकालमा ज्यान गुमाउनु प‍¥यो ।

गाउँका पुरूष यार्सा संकलनका लागि पाटनतिर गएको बेला सुत्केरी व्यथाले थलिएकी तामाङको समयमा उपचार नहुँदा मृत्यु भएको हो । यो एउटा प्रतिनिधिमुलक घटना मात्रै हो । नजिकै स्वास्थ्य चौकी नहुँदा चिताईवासीले सिटामोल लिन समेत एक दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ । आकस्मिक होस् वा अन्य कुनै सेवा लिन दुई दिनको पैदल यात्रा गरेर जिल्ला अस्पताल पुग्नु पर्छ ।

आफ्नै वडाको डोल्पु स्वास्थ्य चौकी पुग्न स्थानीयले एक दिन धाउनै पर्छ। ‘नजिक स्वास्थ्य चौकी छैन । बिरामी पर्दा उपचार नै नगरी घरमै मर्नुपर्ने बाध्यता छ’, चिताईका कार्मा तामाङ भन्छन्, ‘डोल्पु स्वास्थ्य चौकी पुग्न एक दिन लाग्छ । औषधि लिएर स्वास्थ्यकर्मी गाउँ गाउँदैनन् । बिरामी स्वास्थ्य चौकी पुग्दैनन्। सिटामोल पाउन पनि मुस्किल भयो।’ सामान्य बिरामी चेकजाँच गर्न गाउँमा स्वास्थ्य केन्द्र स्थापना हुनुपर्ने उनको माग छ ।

भौगोलिक विकटताका कारण मुगम कार्मारोङ गाउँपालिका—१ का चिताई, डोल्पु र वांग्री गाउँ तथा वडा नम्बर ३ र ४ का ताखा, खारी कात्तिक गाउँका स्थानीय स्वास्थ्य चौकीको पहुँच भन्दा टाढा छन् । सडक, शिक्षा, स्वास्थ्य र विद्युत जस्ता समस्याका कारण वांग्रीका अधिकांश जुम्ला बसाँइ सरेका छन ।  स्थानीय गुटक तामाङले भने,  ‘गाउँका गर्भवती महिलालाई नियमित चेकजाँच गर्न समस्या छ, गर्भवती पैदल हिडेर एक दिनमा स्वास्थ्य चौकी पुग्न सक्दैनन् ।’ कर्णाली प्रदेशको सामजिक विकास मन्त्रालयले चालु आर्थिक वर्षमा चिताई गाउँमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापनाका लागि कोटा निर्धारण गरेको थियो । सो कोटा सोही गाउँपालिका—९ चिमात गाउँमा स्थापना भएपछि चिताईवासी अझै सेवाबाट बञ्चित हुनु परेको छ ।

बढीमा ३० मिनेटको दुरीमा एक गाउँ एक स्वास्थ्य संस्था तथा स्वास्थ्य इकाई केन्द्र स्थापना गर्ने स्वास्थ्य नीति २०७४ को रणनीतिमा उल्लेख छ । तर यो अवधारणाले चिताई गाउँलाई समेट्न सकेको छैन । मुगुम कार्मारोङ गाउँपालिका—१ का वडाध्यक्ष सोनामवांग्री तामाङले चिताईमा सामुदायिक स्वास्थ्य केन्द्र स्थापनाका लागि पहल भए पनि सुनुवाई नभएको बताए । बालबालिकालाई खोप लगाउन मात्र स्वास्थ्यकर्मी गाउँ पुग्ने गरेका उनको भनाई छ । ‘स्थानीय दिनभर हिडेर स्वास्थ्य चौकी पुग्छन् ।
तर चौकीमा कहिले स्वास्थ्यकर्मी हुँदैनन्, कहिले औषधिविहिन हुन्छ’, उनले भने ।

सिटामोल लिन दिनभर पैदल

सम्पादकीय : नाकामा सतर्कता

Leave a comment

Your email address will not be published. Required fields are marked *