नेकपा कर्णालीको विवाद अब ओली–प्रचण्डले मिलाउने, तत्काल सबै गतिविधि रोक्न निर्देशन

सुर्खेत, २८ असोज ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद अब केन्द्रीय कमिटीमा पुगेको छ । १८ जना सांसदहरुले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि उत्पन्न विवाद नेकपा केन्द्रले मिलाउने भएको छ ।

कर्णाली प्रदेश सरकारमा मुख्यमन्त्री शाही र असन्तुष्ट सांसदहरु बिच देखिएको विवाद नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले मिलाउने भएका छन् । विवाद उत्कर्षमा पुग्दै गर्दा ओली र दाहालले सबै विवाद थाँती राखेर दुबै पक्षका नेताहरुलाई काठमाडौं बोलाएका हुन् । अध्यक्षद्वयले नेकपा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश इन्चार्ज जनार्दन शर्मा, सह–इन्चार्जद्वय यामलाल कँडेल र प्रकाश ज्वाला, प्रदेश कमिटी अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा र नेकपाका केन्द्रीय सदस्य एवम् सांसदद्वय गुलावजंग शाह र चन्द्रबहादुर शाहीलाई दुई दिनभित्र काठमाडौं पुग्न निर्देशन दिएका हुन् । दुबै पक्ष आज (मंगलबार) नै काठमाडौँ पुग्ने जनाइएको छ ।

योसँगै कर्णालीमा देखिएको नेकपाभित्रको सत्ता संघर्षको समाधान खोजिने भएको छ । दुई अध्यक्षसँग हुने छलफलपछि कर्णाली प्रदेशमा सरकार सञ्चालनमा देखिएका समस्या र विद्रोही पक्षका मागलाई सम्बोधन गरिने छ । त्यस्तै नेकपाले तत्काल सबै गतिविधि रोक्न प्रदेशका नेताहरुलाई निर्देशन दिएको छ । प्रदेश सरकारका काम कारबाहीप्रति १८ जना सांसदहरुले असहमती जनाउँदै मुख्यमन्त्रीविरुद्ध आइतबार अविस्वासको प्रस्ताव संसदीय दलमा दर्ता गरेका छन् । नेकपाका ३३ जनामध्ये बहुमत सदस्यहरुले मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव ल्याएसँगै नेकपा कर्णालीको राजनीति एकाएक तरंगित बनेको हो ।

असन्तुष्ट पक्षले पत्रकार सम्मेलन गरेर सरकारका गतिविधिका कारण नेकपाप्रति नागरिकको लोकप्रियता घटेको, मुख्यमन्त्रीले प्रभावकारी रुपमा संसदीय दल र सरकार सञ्चालन गर्न नसकेको भन्दै अविस्वासको प्रस्ताव ल्याउनु परेको बताएका थिए । अविश्वासको प्रस्तावको नेतृत्वकर्ता सांसद यामलाल कँडेलले सांसदले पाएको अधिकार प्रयोग गर्दै मुख्यमन्त्रीविरुद्ध अविस्वासको प्रस्ताव ल्याइएको प्रष्ट पारेका थिए । सांसदहरुले अविस्वासको प्रस्ताव सोहीदिन प्रमुख सचेतक गुलावजंग शाहलाई बुझाएका थिए ।

शाहले अविस्वासको प्रस्तावमाथि दुई दिनपछि मंगलबार दिउँसो १ बजेका लागे संसदीय दलको बैठक डाकेका थिए । तर आफूविरुद्ध अविस्वासको प्रस्तावलाई सामना गर्न र बैठकलाई अवैधानिक बनाउन मुख्यमन्त्री शाहीले त्यसको भोलि पल्ट अर्थात सोमबार शाहलाई प्रमुख सचेतकबाट पदमुक्त गरेका थिए । असोज २५ गतेकै मिति कायम गरेर मुख्यमन्त्रीले शाहलाई पदमुक्त गरी प्रमुख सचेतकमा सचेतक सीताकुमारी नेपालीलाई नियुक्त गरेका थिए । सचेतक नियुक्त भएलगत्तै नेपालीले कार्तिक ७ गते दिउँसो ११ बजेका लागि दलको बैठक डाकेकी छन् । तर असन्तुष्ट पक्षले मंगलबार नै दलको बैठकबाट मुख्ममन्त्री शाहीविरुद्धको अविस्वासको प्रस्ताव पास गर्ने कस्सीएका थिए । तर अविस्वासको प्रस्तावमा हस्ताक्षर गरेका केही सांसदलाई फकाउँदै मुख्यमन्त्रीले अविश्वासको प्रस्ताव पास हुनबाट बचाए ।

असन्तुष्ट मध्ये माधव नेपाल समूहका सांसदले तीन मन्त्री र सचेतक पद पाउने भएपछि कँडेल समूहको बैठकमा सहभागी भएका थिएनन् । तत्कालका लागि मुख्यमन्त्रीले पद जोगाउन गरेको सबै प्रयासलाई निस्तेज पार्दै दुबै पक्षलाई सबै विवाद थाँती राखेर काठमाडौं बोलाएपछि नेकपा कर्णालीभित्र देखिएको विवाद अब केन्द्रमा पुगेको छ ।

कुर्मराजलाई सचेतकको जिम्मेवारी

यसैबीच नेकपा कर्णाली प्रदेश सभाको सचेतकको जिम्मेवारी सांसद कुर्मराज शाहीले पाएका छन् । संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मंगलबार शाहीलाई सचेतकमा नियुक्त गरेका हुन् । कालिकोटबाट निर्वाचित उनी नेकपा बरिष्ठ नेता माधव नेपाल समूहका हुन् ।

यसअघि मुख्यमन्त्री शाहीले प्रमुख सचेतक गुलावजंग शाहलाई हटाएर सचेतक रहेकी सीता नेपालीलाई प्रमुख सचेतक नियुक्त गरेका थिए । सचेतक रहेकी नेपालीले प्रमुख सचेतकको जिम्मेवारी पाएपछि सो पद खाली भएको थियो । शाहीले सचेतकको पद पाएपछि मुख्यमन्त्रीविरुद्धको अविस्वासको प्रस्ताव फेल गराउने सहमति गरेका थिए ।

जब नेपाल समूह ब्याक भयो…

मुख्यमन्त्री शाहीविरुद्ध अविस्वासको प्रस्ताव गर्ने माधव नेपाल समूहका सांसदहरुले यामलाल कँडेलको साथ छोडेका छन् । मंगलबार संसदीय दलको बैठक बस्नुअघि नै नेपाल समूहका चार जना सांसदलाई पद दिने सहमतिपछि उनीहरुले कँडेलको साथ छोडेका हुन् । मुख्यमन्त्रीले अविस्वास प्रस्ताव फेल गराउन नेपाल समूहका सात जना सांसदमध्ये सचेतक र मन्त्री बनाउने सहमति गरेका थिए । सहमति लगत्तै शाहीले सांसद कुर्मराज शाहीलाई सचेतकमा नियुक्त गरेका छन् । पार्टी अध्यक्षद्वयले तत्काल विवाद नबढाउन पत्राचार गरेपछि तीन जना मन्त्रीको नियुक्ती रोकिएको हो ।

मुख्यमन्त्री र नेपाल समूहबीच सांसदहरु करवीर शाही, चन्द्रबहादुर शाही र अम्मरबहादुर थापालाई मन्त्री बनाउने सहति गरेर नेपाल समूहले कँडेललाई अन्तिम समयमा धोका दिएको उक्त समूहका एक सांसदले बताए । आइतबार मुख्यमन्त्री शाहीविरुद्ध अविस्वासको प्रस्ताव ल्याउन १८ जना सांसदमध्ये नेपाल समूहका सात जना, ओली समूहका आठ जना र दाहाल समूहका तीन जना थिए । तर मुख्यमन्त्री र नेपाल समूहको सहमतिपछि ओली समूहले मुख्यमन्त्रीविरुद्धको अविस्वासको प्रस्ताव पास गर्न सकेका थिएनन् । कँडेल पक्षले अन्तिम समयसम्म शाहीबिरुद्धको अविस्वासको प्रस्ताव पास गराउने उद्देश्यले नेकपा सांसदीय दलको बैठक डाकेको थियो । तर ओली पक्षको बैठकमा ११ जना सांसदमात्रै सहभागी भएका थिए ।

नेकपा कर्णालीको विवाद अब ओली–प्रचण्डले मिलाउने, तत्काल सबै गतिविधि रोक्न निर्देशन

कर्णाली विवादबारे आज पनि छलफल गर्दै ओली-प्रचण्ड

नेकपा कर्णालीको विवाद अब ओली–प्रचण्डले मिलाउने, तत्काल सबै गतिविधि रोक्न निर्देशन

कात्तिक ७ देखि क्लिन-फिड लागू हुने, विदेशी

Leave a comment

Your email address will not be published. Required fields are marked *