सडक नबनेपछि डोरी समातेर भीरको बाटो काट्दै बटुवा

हुम्ला, २८ असोज ।
हिल्सा सडक आयोजनाले बाटो निर्माण कार्य अधुरो गरेपछि बटुवालाई हिड्न कठिन भएको हो । काम बिशेषले सदरमुकाम सिमकोट लागेका बटुवा पुर्ण लामाले भीरको बाटोमा डोरी समातेर हिड्नु परेको बताए ।

च्याछरा भीरमा सडक अधुरो बनाए पछि बटुवाहरुले ज्यानलाई जोखिममा राखेर हिड्नु परेको हो । पिठिउमा पाँच वर्षकी छोरी बोकेर डोरी समातेर भीर पार गर्दा शरिरलै सिरिङ भएको बताउदै लामाले केही तल माथि भए दुर्घटना हुन सक्ने बताए । तल निलो कर्णाली नदी देखिने माथि डोरी समातेर भीर पार गर्नु हम्मे हुने भए पनि सबैतिर भीर भएको कारण बटुवालाई अन्य बिकल्प पनि देखिदैन ।
गाउँ गाउँमा कोरोना संक्रमण वारे सचेतना फैलाउन र गर्भ जाँच गर्न नाम्खा गाउँपालिकामा जानु भएकी स्वास्थ्य सेवा कार्यालयकी सिनियर अनमी सरिता बोहराले भीरको बाटोमा जोखिम उठाएर जानुको बिकल्प नभएको बताइन् । अझ लोग्ने मान्छे भन्दा महिलालाई भीर पार गर्न निक्कै कठिन हुने गरेको छ । सडक निर्माण गर्ने क्रममा बिकल्प नभएको स्थानमा मानिस हिड्न सक्ने बाटो नबनाएको कारण बटुवालाई कठिन भएको बताए । सो क्षेत्रमा आयोजनाले बिष्फोट गरेर सडक निर्माण गरे पनि काम पुरा नहुदा हिड्न समस्या भएको हो ।
खुट्टा चिप्लीए वा डोरीबाट पुत्किए सिधै कर्णाली नदी खस्ने डर पनि उत्तिक्कै रहेको छ । यस्ता ठाउँमा बाटो बनाएर बटुवाले खेप्नु परेको सास्तीलाई समधान गर्न आबश्यक रहेको पिडितको गुनासो रहेको छ । कोरोना कै कारण खासै मानिसको आउुजाउु नभएको कारण दुर्घटना हुन नपाएको हो ।






