सुर्खेतबाट लाइसेन्स वितरण आफ्नै ट्रायल सेन्टर नहुँदा सीप परिक्षणमा झन्झट

सुर्खेत : यातायात व्यवस्था कार्यालय सुर्खेतबाट सवारी चालक अनुमतिपत्र (लाईसेन्स) वितरणसँगै राजस्व संकलन बढेको छ । चालु आर्थिक वर्षको गत महिनादेखि सुर्खेतबाटै नयाँ सवारी लाईसेन्स वितरण हुन थालेपछि राजस्व संकलन ह्वात्तै बढेको हो ।

यसअघि कर्णालीवासीले सवारी साधनको लाईसेन्स लिन बाँकेको नेपालगञ्ज जानुपर्ने बाध्यता अन्त्य गर्दै सुर्खेतबाटै लाईसेन्स वितरण सुरु गरिएपछि आन्तरिक राजस्व बढ्न थालेको हो । जसअनुसार गत आर्थिक वर्षको तुलनामा यसवर्ष दोव्वर राजस्व असुली हुने अनुमान गरिएको छ । चालु आर्थिक वर्षको आठ महिनाभित्र मात्रै झण्डै आठ करोड राजस्व संकलन भएको हो ।

गत साउन महिनादेखि पुस मसान्तसम्म सात करोड ३८ लाख ३५ हजार राजस्व संकलन भएको थियो । तर सवारी लाईसेन्स वितरण कार्य सुरु भएपछि माघ महिनामा मात्रै ९९ लाख ९२ हजार १४ रुपैंया राजस्व संकलन भएको यातायात व्यवस्था कार्यालयका निमित्त प्रमुख आनन्द चपाईले बताए । उनका अनुसार गत आर्थिक वर्षमा जम्मा नौ करोड ७१ लाख ५६ हजार राजस्व संकलन भएको थियो ।

चालु आर्थिक वर्षको आठ महिनाभित्रै झण्डै आठ करोड राजस्व संकलन भएपछि यस वर्ष गत वर्षको तुलनामा दोव्वर राजस्व असुली हुने अनुमान गरिएको हो । सवारी दर्ता, नविकरण, नामसारी, ब्लुबुक प्रतिलिपि, बाटो इजाजतपत्र नविकरण तथा प्रतिलिपि र जाँचपास प्राविधिक परिक्षण तथा प्रतिलिपि, सवारी साधन कर लगायतका शिर्षकमा राजस्व संकलन भइरहेको छ । सुर्खेतबाटै नयाँ सवारी लाईसेन्स वितरणसँगै राजस्व संकलन हुन थालेपछि स्थानीयवासीलाई समेत सहज भएको हो ।

लाइसेन्स वितरणमा सकस

कर्णालीमा पहिलोपटक सुर्खेतबाटै सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण कार्य सुरु भएपछि स्थानीय निकै खुसी भएका छन् । तर लाइसेन्स वितरणका लागि आवश्यक पूर्वाधार तथा दक्ष जनशक्ति नभएपछि यातायात व्यवस्था कार्यालयलाई कष्टकर भएको हो ।

निमित्त कार्यालय प्रमुख आनन्द चपाईका अनुसार कार्यालयको आफ्नै ट्रायल सेन्टर र ट्रायलका लागि आफ्नै सवारी साधन नहुदाँ सीप परिक्षणमा कठिनाइ छ । ‘सीप परिक्षणका लागि अहिले नीजि क्षेत्रले ट्रायल सेन्टर र ट्रायलका लागि सवारी साधन उपलब्ध गराएका छन् ।

तर यो प्रक्रिया दिगो होइन’ उनले भने, ‘लाइसेन्स वितरण प्रक्रियालाई प्रभावकारी र अझै पारदर्शी बनाउने हो भने अब हामीलाई आफ्नै ट्रायल सेन्टर र ट्रायलका लागि सवारी साधन चाहिन्छन् ।’ साथै सरकारी ट्रायल सेन्टर निर्माण र ट्रायलका लागि सवारी साधन खरिद गर्ने कार्यमा प्रदेश सरकारले चासो देखाउनुपर्ने उनको भनाइ छ ।

https://www.youtube.com/watch?v=WUVZ0zB6GKU

जनशक्तिको पीरलो

यातायात व्यवस्था कार्यालय सुर्खेतमा १५ जना कर्मचारीको दरबन्दी छ । तर कामको चापले अझै तीन जना सहायक स्तरका कर्मचारी आवश्यक देखिएको निमित्त प्रमुख आनन्द चपाईले बताए । कामको चाप र राजस्व संकलन जस्ता आन्तरिक आम्दानी अनुसार प्रदेश सरकारले कर्मचारी व्यवस्थापन गर्न नसकेको कार्यालय स्रोतले बतायो ।

‘सेवा कार्यालयअनुसार दरवन्दी तयार गरेजस्तो लाग्यो’ कार्यालय स्रोतले भन्यो, ‘नयाँ लाइसेन्स जारीसँगै ह्वात्तै कामको चाप बढ्दा अझै कर्मचारी अपुग भएको छ ।’ भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता गोपाल शर्माले कर्मचारी अपुगबारे मन्त्रालयमा कुनै जानकारी नआएको बताए । ‘कार्यालयको निरीक्षणमा गएको बेला कामको चाप बढेको देखिन्छ’ शर्माले भने, ‘कार्यालयको कामलाई छिटो र छरितो बनाउन मन्त्रालय अझै गम्भीर भएर आवश्यक सहयोग गर्नेछ ।’

जुम्लाबाट पुनः लाइसेन्स

तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्र हुँदा जुम्लाबाट लाइसेन्स वितरण गरिँदै आएको थियो । तत्कालनि कर्णाली अञ्चलको जुम्ला, भेरीको नेपालगञ्ज र राप्तीको दाङमा यातायात व्यवस्था कार्यालय थिए । मुलुक संघीयतामा रुपान्तरण भएपछि सबै संरचना भएको यातायात व्यवस्था कार्यालय जुम्ला यातायात सेवा व्यवस्था कार्यालयमा घटुवा भयो ।

प्रदेश राजधानी वीरेन्द्रनगरमा रहेको यातायात सेवा कार्यालयलाई यातायात व्यवस्था कार्यालयमा रुपान्तरण गरेपछि जुम्लामा लाइसेन्स वितरण बन्द गरियो । जुम्लाबाट पनि लाइसेन्स वितरण गर्नेगरी अध्ययनका लागि टोली जुम्ला पठाएको मन्त्रालयका प्रवक्ता गोपाल शर्माले बताए । ‘सुर्खेत र जुम्लाबाट लाइसेन्स वितरण गर्ने उदेश्यले नै टोली पठाएको छौं’ प्रवक्ता शर्माले भने, ‘टोलीले दिएको प्रतिवदेनका आधारमा यसबारे मन्त्रालयले निर्णय गर्नेछ ।’

सुर्खेतबाट लाइसेन्स वितरण आफ्नै ट्रायल सेन्टर नहुँदा सीप परिक्षणमा झन्झट

कोरोनाको त्रास नफैलाउन प्रशासनको आग्रह

सुर्खेतबाट लाइसेन्स वितरण आफ्नै ट्रायल सेन्टर नहुँदा सीप परिक्षणमा झन्झट

यौन तथा प्रजनन सम्बन्धि अभिमुखकिरण

Leave a comment

Your email address will not be published. Required fields are marked *