अस्पताल जानुअघि प्रधानमन्‍त्री भने, बेष्ट स्ट्राइकरले मैदान छोड्दैन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्थाबारे ढुक्क हुन सबैलाई अपिल गरेका छन् । अस्पताल जानुअघि प्रधानमन्‍त्रीको भिडियो सन्देश दिदै ओलीले यस्तो अपिल गरेका हुन् । उनले आफू मृगौला प्रत्यारोपण गरेर चाँडै स्वस्थ भएर नियमित काममा फर्कने विश्‍वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफू थप उर्जा र आत्मविश्वास लिएर अस्पतालबाट फर्किने बताउँदै भनेका छन्, ‘संसारमा कोही पनि अजम्बरी छैन । मेरो यो संकल्प पनि अजम्बरी बन्न हैन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ । म पुनः एकपटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरू ढुक्क रहनुहोस् ।’ भिडिओ सन्देशमा प्रधानमन्त्री ओलीले आफू अस्पतालबाट थप उर्जा र आत्मविश्वाससहित आउने विश्‍वास व्यक्त गरेका छन् ।

ओलीले आफ्नै देशका अनुभवी चिकित्सकद्वारा गरिने मृगौला प्रत्यारोपणको सुविधा प्राप्त हुँदा गर्व लागेको बताए । उनले भनेका छन्, ‘विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मृगौला प्रत्यारोपण अहिले, पहिलेजस्तो जटिल मानिँदैन । यसपटकको मृगौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रूपमा सजिलो हुने मैले विश्वास लिएको छु । त्यसमाथि आफ्नै देशका अनुभवी चिकित्सकहरूद्धारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुशी पनि छु ।

ओलीले आफ्नो सिंगो जीवन संघर्षमै बितेको स्मरण गर्दै भनेका छन्, मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको संर्घषमा बित्दै आएको छ, विविध समस्याहरूसँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरू सबैलाई जानकारी नै छ ।  उनले भने, ‘आजभन्दा झण्डै १२ वर्ष अघि मेरा दुबै मृगौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मृगौला प्रत्यारोपण गराएको थिएँ । त्यतिबेला नेपालमा मृगौला प्रत्यारोपणको सुविधा थिएन । आगामी फागुन २१ गते बुधबार फेरि मैले मृगौला प्रत्यारोपण गराउँदैछु ।


त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्मा भर्ना हुँदैछु ।’ ओलीले भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप नहुने दृढता व्यक्त गर्दै भने, ‘भनिन्छ, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजवुत तुल्याउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौं । त्यसलाई ब्यूँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरीपरी तपाईहरू सबैले आफूलाई उभ्याउनु भयो’ प्रधानमन्त्रीले सन्देशमा भनेका छन्, ‘यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छौं । जसरी खेलको बीचमा ‘बेष्ट स्ट्राइकर’ले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्‍न ।’

अस्पताल भर्ना भए प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओली मृगौला प्रत्यारोपणका लागि त्रिभुवन विश्‍वविद्यालय शिक्षण अस्पताल महाराजगञ्‍ज आइपुगेका छन् । ओली सोमबार बेलुका सवा ६ बजे अस्पताल पुगेका हुन् । प्रधानमन्त्री ओलीको फागुन २१ गते बुधबार मृगौला प्रत्यारोपण हुँदैछ ।

मृगौला प्रत्यारोपणका लागि अस्पतालका विशेषज्ञसहित विशेष टोली खटिने भएको छ।मृगौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पतालकै युरोलोजी तथा ट्रान्सप्लान्ट वरिष्ठ सर्जन डा. प्रेमराज ज्ञवालीको नेतृत्वको टिमले गर्ने भएको छ । युरोलोजी डिपार्टमेन्टका अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन् । मृगौला त्रिवि शिक्षण अस्पतालकै प्रत्यारोपणमा युरोलोजी र नेफ्रोलोजी विभागको टिमको संलग्नता रहने गरी तयारी गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।

नेफ्रोलोजी विभाग प्रमुखमा डा. दिव्यासिंह शाह छन् । उनको टिममा डा. महेश सिग्देल, डा.मुकुन्द काफ्लेलगायत छन्। युरोलोजीमा प्रा.डा.उत्तम शर्मा, डा. ज्ञवाली, डा.भोजराज लुइँटेल, डा. पवन चालिसे कार्यरत छन् । प्रधानमन्त्री ओलीलाई दोस्रो पटक मृगौला दिन आफन्त नाताकी एक महिला तयार भएकी छन् । यसअघि भने बुहारी नाताकी अञ्‍जना घिमिरेले मृगौला दिएकी थिइन् ।



ताजा समाचार