मुआब्जा बृद्धि गर्न माग
जाजरकोट : नलगाड जलविद्युत आयोजनाको मुआब्जा बृद्धि गर्न माग गरिएको छ । जाजरकोटमा निर्माण हुने चार सय १७ मेघावाट क्षमताको जलविद्युत आयोजना प्रभावितले मुआब्जा रकम बृद्धि गर्न माग गरेका छन् ।
सरकारले ७ बर्षअघि निर्धारण गरेको मुआब्जा रकम निकै कम भएको भन्दै स्थानीयले मुआब्जा निर्धारण उपसमिति मार्फत रकम बृद्धिको माग गरेका हुन् ।
हाल सरकारले नलगाड जलविद्युत आयोजनाबाट प्रभावित हुनेको प्रतिरोपनी जग्गाको चारलाख ७५ हजार रुपैयाँ दिने गरेको छ ।
स्थानीयले प्रतिरोपनी १० लाख रुपैयाँ कायम गरिनु पर्ने, घर, घट्ट, मिल, फलफुलका विरुवा लगायतको एकिकृत मूल्यांकन गरि मुआब्जा दिनु पर्ने, ५ रोपनी भन्दा कम जग्गा हुने परिवारलाई पुर्नवासको ब्यवस्था गर्नु पर्ने लगायतका माग राखेका छन् ।
सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मुआब्जा निर्धारण उपसमितिले शनिवार प्रभावित क्षेत्र बारेकोट ८ सेपुखोलामा गएर सरोकारवालासँग छलफल गरेको छ । समितिमा नापी, मालपोत र नलगाड हाईड्रोपावर सदस्य रहने ब्यवस्था छ । स्थानीयले न्यायोचित माग सम्बोधन नगरे संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् ।