२०८२ फाल्गुन ५ गते
×

Now Playing

भेडीगोठमै बित्यो खड्गबहादुरको जीवन


भेडाको बथान लिएर बुकी पाटनमा बस्नु जति रमाइलो छ, त्यत्ति नै जोखिम पनि । कहिलेकाहीँ हिउँ,आँधी हुरी,चट्याङ उकालो ओरालो भिरपाखाको बाटो भेडी गोठालाका लागि काल बनिदिन्छ ।

भेडाबाख्रा पाल्ने जुम्लाको सिंजा, कनकासुन्दरी, हिमा, तिला, तातोपानी, पातारासी, गुठिचौर गाउँपालिका र चन्दननाथ नगरपालिकाका लेकाली क्षेत्रका बासिन्दाको परम्परागत पेसा हो । ऊन, राडिपाखी, लिउ, फेरुवा भेडाको ऊन बाट बनाइने स्वटर र खेतीपाती प्रयोग गर्ने मलपर्साेका लागि पनि भेडा पालिन्छ ।

‘समस्या त केमा पो छैन र ?’ जुम्लाको तातोपानी गाउँपालिका–३ लिताकोट गाउँका खड्गबहादुर रावलले भने, ‘भेडापालनमा पनि धेरै समस्या छन्, जुधिरहेकै छौं ।’ अरू समयभन्दा चिसो समयमा निकै कष्ट हुने उनले सुनाए । उनका अनुसार चिसोबाट आफू जोगिनु, भेडाबाख्रा र सुरक्षामा रहेका कुकुरलाई बचाउनु मुख्य चुनौती हो । हिउँले बाटो पुरिनु र रुख चढ्नु गोठालाका लागि अर्को जोखिम हो ।

भेडाका लागि डाले घाँस संकलन गर्न अग्ला र ठूला रुख चढ्नुपर्ने हुन्छ । यसबाट लड्ने जोखिम पनि उत्तिकै हुन्छ।झन् हिउँदको समय घाँस हुदैन । सिमी, मकैका खोस्टा खुवाउनुपर्छ । ‘हिउँ, चिसो बतासले रुख चढ्नेहरू खस्न पनि सक्छन्,’ रावलले भने । जुम्लाका आठ वटै स्थानीय तहका ६० वटै वडाका लेकाली क्षेत्रमा भेडा पालिन्छ ।

सिंजा गाउँपालिका–६ का वडाध्यक्ष लालबहादुर बुढाले भेडापालन स्थानीयको मुख्य र परम्परागत पेसा भएको बताए । ‘उनीहरूलाई चिसो र गर्मी खेप्ने बानी परिसकेको छ । पेसामा रमाउन सक्यो भने मजै छ,’ उनले भने, ‘यो हाम्रो पेसामात्र नभई परम्परा पनि हो ।’ यो हाम्रो वडामा मात्रै करिब १ हजार परिवारले ठूलो संख्यामा भेडा पाल्दै आएका छन् । प्रायः सबै भेडा र भेडी गोठाला पाटनकै काखमा हुन्छन् ।

स्याल र भालुबाट भेडा बचाउन कुकुर अनिवार्य पाल्ने गर्छन्।चिसो छल्न न्याना कपडाका साथै खानेकुरामा पनि निकै ध्यान पु¥याउनुपर्छ । उनीहरूले टिमुर, अदुवा, प्याज, लसुन र नुनखुर्सानीको व्यवस्था गरेका हुन्छन् । चामल, मकै, गहुँ, कोदो, फापरको पिठो र सिमीको दाल पनि बोक्छन् । खड्गबहादुर रावल घर आउदैनन् । बाहै महिना भेडा बाख्रा स्याहारसुसार गर्छन् । उनको बसाइँ गाउँदेखि १ घण्टा टाढा सुकमुल भन्ने ठाउँमा छ । उनले भेडाबाख्रा लागि र आफ्नो लागि गोठ उतै बनाएका छन् । यिनै गोठमा भेट्छिन् ६५ वर्षका खड्गबहादुर ।

भेडीगोठमा आफ्नो जीवनको अधिकांश समय बिताए । उमेर बढ्दै जाँदा गालाका छाला चाउरी पर्न लागे, दाँत झर्न लागे तर रावलको जाँगर घटेको छैन । भेडीगोठसँगको उनको सामिप्यता उस्तै छ । गोठमा घाम, पानी, असिना र हिउँमा संघर्षमय तरिकाले रमाएका बुढ्यौली लाग्दासमेत गोठको जीवनबाट अझै थाकेका छैनन् । पहाडका पाखा पखेरा हुँदै हिमालका बुकीसम्म, सानो वर्षको उमेरदेखि नै बुबा आमासँग गोठ बसेका उनलाई औपचारिक शिक्षा लिने अवसर मिलेन ।

बुबा आमासँग गोठमा बस्दै गर्दा आफूलाई समेत गोठप्रतिकै लगाब बढेपछि बाबुले गरेकै पेसालाई जीवनभर अँगालेको रावलले बताए । मैले थाहा पाएसम्म हाम्रो जिजु, बाजे, बुबा हुँदै मसम्म आइपुग्दा चार पुस्ताले नै भेडापालन ग¥यौँ, मैले भेडापालनबाटै परिवार धाने, छोराछोरीलाई पढाएँ, गोठमै बसेर गरेको आम्दानीबाट सन्तुष्ट छु’, खड्गबहादुरले भने ‘दशैं तिहार पूर्णिमा लगायतका पर्वमा पूजाका लागि भेडाहरू किन्न ग्राहक गोठमै आउँछन्, मासु खानका लागि पनि गोठबाटै भेडा किन्न गाउँले आइपुग्छन् ।

खड्गबहादुरले भने, भेडाको ऊनबाट बनेका राडीपाखी ८ देखि १० हजार रुपैयाँसम्म किनबेच हुन्छ । दुई वर्षअघि १ सय ८० भेडा बाख्रा थिए,बिचमा बिक्री गरेर अहिले ८० वटा भेडा बाख्रा छन् । बड्डा दिउँसोको समय पाटन तिर भेडा बाख्रा चराउन जान्छन् । म गोठमै पाठापाठी स्याहारसुसार गर्छु । भनिन् उनकी धर्मपत्नी ६३ वर्षकी कौशिला रावलले । घर छोरी ज्वाइ छन् ।

खेतीपाती गर्ने हामी दुई बड्डाबडीको जीवन यहीँ भेडा बाख्रा बित्दै छ । कौशिलाले भनिन् । पहिलेको तुलनामा भेडापालन घट्दो र भेडाको माग बढ्दो क्रममा रहेको बताउँदै उनले युवापुस्ताले गोठ बस्न नरुचाउने भएकाले भेडापालनको पेसा पुस्तान्तरण हुन नसक्ने अवस्थामा पुगेको अनुभव सुनाए । परम्परागतरुपमा हुँदै आएको भेडापालनलाई व्यावसायिक र व्यवस्थित बनाउन जुम्लाका स्थानीय तह र पशु अस्पताल तथा पशु सेवा कार्यालयले भेडापालन व्यवसायमा लाग्ने युवाहरूलाई सीपमूलक र प्रविधिगत तालिमहरू प्रदान गरिरहेको पाइन्छ ।

जुम्लामा ८४ हजार ३ सय ८८ भेडा पालन गरिएको छ । ६९ हजार हेक्टर चरन क्षेत्र छ । कर्णाली प्रदेश सरकारले भेडापालक किसानलाई प्रोत्साहन गर्न ‘गोठालो भत्ता’ दिने कार्यक्रम लागू गरेको छ । ५० भन्दा धेरै भेडा पाल्ने किसानलाई मासिक १ हजार ५ सयका दरले वार्षिक १८ हजार रुपैयाँ भत्ता भेडापालक किसानलाई दिइदने गरेको छ ।

भेडीगोठमै बित्यो खड्गबहादुरको जीवन

जङ्गली हात्तीको जोखिम न्यूनीकरण गर्न बाँके राष्ट्रिय