बढ्दो खडेरीसँगै वनमा डढेलोको कहर : ४ हजार हेक्टर वन प्रभावित

बाँके, १३ बैशाख ।

जिल्लाका विभिन्न सामुदायिक वन तथा चक्ला वन क्षेत्रमा पछिल्लो समय डढेलो तीव्र रूपमा फैलिँदै गएको छ। यसका कारण वन्यजन्तुको बासस्थानसमेत जोखिममा पर्न थालेको छ भने जैविक विविधतामाथि गम्भीर असर पर्ने संकेत देखिएको छ ।

जिल्ला वन डिभिजन कार्यालयका अनुसार एक सातायता सुरु भएको डढेलोले करिब चार हजार हेक्टर वन क्षेत्र प्रभावित भइसकेको छ । डिभिजन वन कार्यालयका योजना अधिकृत सुशील सुवेदीका अनुसार शम्शेरगञ्ज माथेमा चक्ला वन, भुवरभवानी चक्ला वन, झिँझरी महिला सामुदायिक वन, राप्ती पीडित गुलरी सामुदायिक वनलगायत १२ वटा वन क्षेत्रमा डढेलो लागेको छ । तीमध्ये अधिकांश स्थानमा आगो अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन ।

डढेलो नियन्त्रणका लागि प्रयास जारी रहे पनि वनको भित्री भागमा फैलिएको आगो निभाउन कठिन भइरहेको सुवेदीले बताउनुभयो। जनशक्ति र आवश्यक स्रोतसाधनको अभावका कारण समयमै आगो नियन्त्रण गर्न नसकिँदा क्षति बढ्दै गएको उहाँको भनाइ छ ।

हाल जिल्लामा डढेलो नियन्त्रणका लागि १४ जनाको विशेष दस्ता परिचालन गरिएको छ। तर, उपलब्ध साधन सीमित हुँदा प्रभावकारी नियन्त्रणमा समस्या देखिएको छ । दुई हजार लिटर क्षमताको ट्याक्टरमार्फत मुख्यतः राजमार्ग आसपासका क्षेत्रमा मात्र आगो निभाउन सकिएको जानकारी दिइएको छ ।

वनको भित्री भागसम्म सहज रूपमा पुग्न सक्ने दमकल अभाव हुँदा डढेलो नियन्त्रण अझ चुनौतीपूर्ण बनेको छ । यसैबीच, बढ्दो खडेरीका कारण वन क्षेत्र सुक्खा बन्दै जाँदा आगो तीव्र रूपमा फैलिने जोखिम बढेको छ । “केही दिनभित्र वर्षा नभए डढेलो अझै फैलिने खतरा छ,” सुवेदीले चेतावनी दिए ।

जिल्लामा करिब ५० हजार हेक्टर वन क्षेत्र रहेको जनाउँदै वन कार्यालयले डढेलो नियन्त्रणका लागि विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । यद्यपि, केही व्यक्तिको लापरवाही तथा अविवेकी गतिविधिका कारण डढेलो लाग्ने घटना दोहोरिँदै आएको पनि कार्यालयको भनाइ छ ।

वन डढेलोका कारण वन्यजन्तु विस्थापित हुने, जैविक विविधता नष्ट हुने र स्थानीय बासिन्दाको जीवनयापनसमेत प्रभावित हुने जोखिम बढेको छ । त्यसैले सम्बन्धित निकायले समयमै आवश्यक स्रोतसाधन उपलब्ध गराई प्रभावकारी नियन्त्रणतर्फ ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ ।

बढ्दो खडेरीसँगै वनमा डढेलोको कहर : ४ हजार हेक्टर वन प्रभावित

वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

बढ्दो खडेरीसँगै वनमा डढेलोको कहर : ४ हजार हेक्टर वन प्रभावित

कर्णालीमा ४३.६ प्रतिशत किशोर–किशोरी २० वर्षअघि नै

Leave a comment

Your email address will not be published. Required fields are marked *