बाँके ,९ मंसिर ।
विस्तृत शान्ति सम्झौता भएको दुई दशक पुग्न लाग्दा पनि द्वन्द्वपीडितले न्यायको अनुभूति गर्न नपाएको गुनासो गरेका छन्। द्वन्द्वका क्रममा आफन्त गुमाएका, यातना भोगेका तथा विभिन्न प्रकारका क्षति बेहोरेका पीडितले वर्षौंदेखि न्यायको आशामा समय बिताउनुपरेको भन्दै अब जीवनको उत्तरार्धसम्म पनि न्यायको प्रतीक्षा गर्नुपर्ने अवस्था आउन नदिन राज्यसँग माग गरेका छन्।
विगतका पीडादायी घटना र त्यसले पारेको दीर्घकालीन प्रभाव अझै आफूहरूको जीवनमा कायमै रहेको उल्लेख गर्दै उनीहरूले राज्यले द्वन्द्वपीडितका समस्या, पीडा र अपेक्षालाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताएका छन्। क्षतिपूर्तिको आश्वासन मात्रै नभई सत्यको खोजी, न्याय, उचित परिपूरण, स्वास्थ्य उपचार र सम्मानजनक पुनःस्थापनाको सुनिश्चितता हुनुपर्ने उनीहरूको माग छ।
विस्तृत शान्ति सम्झौताको बीस वर्ष, संक्रमणकालीन न्यायको अवस्था र पीडितका अपेक्षाका विषयमा राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय र एड्भोकेसी फोरम नेपालको संयुक्त आयोजनामा नेपालगञ्जमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा द्वन्द्वपीडितहरूले आफ्ना अनुभव सुनाउँदै न्याय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।
कार्यक्रममा द्वन्द्वपीडित विन्दा खरेल पाण्डे, अशोक सोडारी, युवराज गिरी, लालबहादुर ओली, अलिबहादुर कार्की, कौशिला कार्की र कमला कुँवरले द्वन्द्वकालमा भोग्नुपरेका पीडा, त्यसले परिवार तथा व्यक्तिगत जीवनमा पारेको प्रभाव र न्याय प्राप्तिका लागि वर्षौंदेखि गर्नुपरेको संघर्षबारे अनुभव सुनाउनुभएको थियो।
उहाँहरूले द्वन्द्वका क्रममा भोगेका यातना, आफन्त गुमाउनु पर्दाको पीडा र त्यसबाट उत्पन्न आर्थिक, सामाजिक तथा मानसिक समस्याहरू अझै समाधान हुन नसकेको बताउनुभयो। न्याय पाउने आशामा लामो समय बितिसक्दा पनि राज्यबाट अपेक्षित सम्बोधन हुन नसकेको उहाँहरूको गुनासो थियो।
द्वन्द्वपीडितका समस्या आर्थिक क्षतिपूर्तिमा मात्रै सीमित नरहेको उल्लेख गर्दै उहाँहरूले सम्मानजनक जीवनयापनका लागि आवश्यक वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो। नियमित औषधोपचार, जीविकोपार्जनको व्यवस्था, सामाजिक सुरक्षा, परिवारको उचित पुनःस्थापना र न्यायिक निरूपणलाई प्राथमिकतामा राख्नुपर्ने उहाँहरूको माग थियो।
संक्रमणकालीन न्याय प्रक्रिया लामो समयसम्म टुंगिन नसक्दा पीडित र तिनका परिवार थप मानसिक, सामाजिक तथा आर्थिक समस्यामा परेको उहाँहरूको भनाइ थियो। वर्षौंदेखि एउटै विषयमा आश्वासन सुन्नुपरेको भन्दै अब भाषण र प्रतिबद्धताभन्दा व्यवहारमै अनुभूति हुने गरी परिणाममुखी काम गर्नुपर्ने उहाँहरूले बताउनुभयो।
राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एड्भोकेसी फोरमका संयोजक वसन्त गौतमले विषय प्रवेश गराउँदै संक्रमणकालीन न्यायको पछिल्लो अवस्था, विद्यमान चुनौती र पीडितका अपेक्षाबारे जानकारी गराउनुभएको थियो।
उहाँले विस्तृत शान्ति सम्झौताले परिकल्पना गरेको शान्ति प्रक्रियालाई पूर्णता दिन संक्रमणकालीन न्यायको प्रभावकारी कार्यान्वयन अपरिहार्य रहेको बताउनुभयो। द्वन्द्वपीडितले पाउनुपर्ने सत्य, न्याय र परिपूरणको अधिकार सुनिश्चित नगरेसम्म शान्ति प्रक्रियाले पूर्णता पाउन नसक्ने उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरी, नेपालगञ्ज उच्च अदालत बारका अध्यक्ष पवनकुमार गुप्ता, जिल्ला बार अध्यक्ष पुनम श्रेष्ठ तथा अधिकारकर्मी विश्वजित तिवारी, सुरेश गौतम र प्रभातकुमार ठकुरीलगायतले संक्रमणकालीन न्याय प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउनुपर्ने धारणा राख्नुभएको थियो।
उहाँहरूले विस्तृत शान्ति सम्झौताको मर्म र भावनाअनुसार शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न राज्य गम्भीर र जिम्मेवार हुनुपर्ने बताउनुभयो। पीडितलाई वास्तविक न्यायको अनुभूति गराउन सत्य निरूपण, दोषीलाई जवाफदेही बनाउने प्रक्रिया, परिपूरण तथा सम्मानजनक पुनःस्थापनाका काम प्रभावकारी रूपमा अघि बढाउनुपर्नेमा उहाँहरूले जोड दिनुभयो।
शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि पीडितले न्यायका लागि निरन्तर संघर्ष गर्नुपर्ने अवस्था रहनु चिन्ताको विषय भएको उल्लेख गर्दै सहभागीहरूले संक्रमणकालीन न्याय प्रक्रियालाई राजनीतिक स्वार्थ र प्रक्रियागत ढिलाइबाट मुक्त गरी पीडितमैत्री बनाउनुपर्ने धारणा राख्नुभएको थियो।
कार्यक्रममा संक्रमणकालीन न्यायको वर्तमान अवस्था, द्वन्द्वपीडितले भोगिरहेका समस्या, राज्यको दायित्व तथा न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउन आवश्यक पहलका विषयमा विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमको अध्यक्षता गर्नुभएकी राष्ट्रिय मानव अधिकार आयोग नेपालगञ्ज कार्यालय प्रमुख द्वारिका अधिकारीले संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउँदा पीडितको अधिकार र न्यायको सुनिश्चिततालाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो। लामो समयदेखि न्यायको प्रतीक्षामा रहेका द्वन्द्वपीडितको पीडा र अपेक्षालाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने उहाँको भनाइ थियो।
सत्यको अन्वेषण, न्यायमा सहज पहुँच, पीडितको परिपूरण र सम्मानजनक पुनःस्थापनाको व्यवस्था गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै अधिकारीले संक्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय, प्रभावकारी र पीडितमैत्री बनाउन आवश्यक रहेको बताउनुभयो।
दुई दशक पुग्न लाग्दा पनि द्वन्द्वपीडितका घाउ निको हुन नसक्नु र न्यायको प्रतीक्षा जारी रहनुले शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्नुपर्ने आवश्यकतालाई पुनः उजागर गरेको सहभागीहरूको निष्कर्ष थियो। उनीहरूले पीडितको जीवनकालमै न्यायको अनुभूति हुने गरी राज्यले ठोस कदम चाल्नुपर्नेमा जोड दिएका थिए।


