२०८३ मंसिर १० गते
वीरेन्द्रनगर, सुर्खेत 12°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

दशौँ राष्ट्रिय खेलकुदका लागि वीरेन्द्रनगरमा तयारी तीव्र

सुर्खेत, ९ मंसिर । 

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई सफल बनाउन वीरेन्द्रनगर नगरपालिकाले पूर्वाधार व्यवस्थापन, सरसफाइ र खेलाडी तथा पाहुनाको स्वागतका लागि तयारी तीव्र पारेको छ । नगरपालिकाले नगर उपप्रमुख निलकण्ठ खनालको अध्यक्षतामा राष्ट्रिय खेलकुद व्यवस्थापन सहजीकरण समिति गठन गरी विभिन्न काम अघि बढाएको हो ।

नगर कार्यपालिकाको २०८३ कात्तिक २८ गते बसेको १४औँ बैठकको निर्णयअनुसार समिति गठन गरिएको थियो । समितिले खेलकुद स्थल आसपास सरसफाइ, सडक सौन्दर्यीकरण, खाल्डाखुल्डी पुर्ने, स्वागतद्वार निर्माण तथा पर्यटकीय स्थलको प्रचारप्रसारका काम गरिरहेको छ । बाङ्गेसिमल, धुलियाबिट, विमानस्थल, मंगलगढी, आकाशेपुल र घण्टाघर क्षेत्रमा स्वागतद्वार निर्माणको तयारी गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले प्रतियोगिता सफल बनाउन नगरपालिका सुरुदेखि नै सक्रिय रहेको बताइन् । उनका अनुसार खेलमैदान व्यवस्थापन, स्वास्थ्य सेवा, एम्बुलेन्स तथा स्वास्थ्यकर्मी परिचालन, प्रवेशद्वार निर्माण, सडक बत्ती जडान र नगर सरसफाइका काम अघि बढाइएको छ ।

‘खेल अवधिभर सम्भावित आपत्कालीन अवस्थालाई ध्यानमा राखेर चालकसहित एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्छौँ,’ उनले भनिन् । प्रतियोगिता सफल बनाउन राजनीतिक दल, व्यवसायी, यातायात व्यवसायी तथा सरोकारवालासँग समन्वय र सहकार्य गरिने ढकालले बताइन् । उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गरी खेलाडी तथा पाहुनालाई उचित स्वागत र सत्कार गर्ने उनको भनाई छ ।

समितिले खेलकुद स्थलमा स्वास्थ्य डेस्क स्थापनाका लागि पनि आवश्यक तयारी गरेको छ । त्यस्तै, कर्णालीका प्रमुख पर्यटकीय स्थल समेटिएको जानकारीमूलक ब्रोसर तयार गर्ने काम अन्तिम चरणमा पुगेको र घण्टाघर डबलीमा पर्यटकीय स्थलका तस्बिर प्रदर्शनी गर्ने तयारी भइरहेको नगरपालिकाले जनाएको छ ।

दशौँ राष्ट्रिय खेलकुदका लागि वीरेन्द्रनगरमा तयारी तीव्र

उत्कृष्ठ पाँच उद्यमीलाई भेरीगंगाको सम्मान

दशौँ राष्ट्रिय खेलकुदका लागि वीरेन्द्रनगरमा तयारी तीव्र

पौडीमा बने चार राष्ट्रिय कीर्तिमान

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!