सुर्खेत, ९ मंसिर ।
मोबाइल सेल्फी भिडिओ मोडमा राखेर भेरी नदीमा नुहाउन पसेका दुई युवा बेपत्ता भएका छन् । मंगलबार दिउँसो सुर्खेतस्थित भेरी नदीमा पसेका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ का १९ वर्षीय अमिर अली शाह र सोही ठाउँका बुदेश कुमार तमोली बेपत्ता भएका हुन् ।
सुर्खेतका प्रहरी प्रमुख एसपी ठाकुरप्रसाद पोखरेलका अनुसार उनीहरू मोबाइल सेल्फी मोडमा राखेर नुहाउन नदीमा पसेका थिए । ‘सायद उनीहरूले भिडिओ बनाउन लागेका थिए । तर फर्केर आउन सकेको देखिएन,’ उनले भने ।
प्रहरीका अनुसार दुवै जना सुर्खेतस्थित आफन्तको घरमा आएका थिए । आफन्तसँग भेटघाट गरेर बाँकेस्थित घर फर्किने क्रममा उनीहरू भेरी नदी किनारमा पुगेका थिए । त्यहीँ उनीहरू भिडिओ बनाउन नदीमा पसेका थिए । प्रहरी प्रवक्ता डिएसपी कवीन्द्र बोहराका अनुसार उनीहरूले प्रयोग गर्ने भे १४ प ५६७० नम्बरको मोटरसाइकल, दुई जोर जुत्ता, कपडासहितको झोला र सेल्फी स्टिकमा राखिएको मोबाइल नदी किनारमा फेला परेको छ ।
वीरेन्द्रनगर नगरपालिका–११ स्थित भेरी नदी र झुप्राखोलाको दोभानमा उनीहरू मंगलबार दिउँसो करिब पौने ३ बजे नदीमा पसेको प्रहरीले जनाएको छ । सेल्फी मोडमा राखिएको मोबाइल, मोटरसाइकल, जुत्ता र कपडालगायतका सामान नदी किनारमा फेला परे पनि मानिस नदेखिएपछि वीरेन्द्रनगर नगरपालिका–७ का स्थानीय बालकृष्ण खरेल र इन्द्रलाल खरेलले दिउँसो २ः५५ बजे स्थानीय प्रहरी चौकी सुब्बाकुनालाई खबर गरेका थिए ।
त्यसपछि प्रहरी सहायक निरीक्षक तिलक कँडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। टोलीले नदी किनारमा मोटरसाइकल, मोबाइल, सेल्फी स्टिक, जुत्ता, कपडा र सवारी चालक अनुमतिपत्र फेला पारेको थियो । ‘भिडिओ बनाउने क्रममा दुवै जना नदीमा प्रवेश गरेको तर आवश्यक सावधानी नअपनाउँदा पानीको ठूलो बहावले बगाएर बेपत्ता पारेको अनुमान छ,’ एसपी पोखरेलले भने, ‘उनीहरूलाई मंगलबार दिनभरि खोजी गर्दा पनि फेला पार्न सकिएन ।’ उनीहरूको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ । बुधबार पनि खोजी कार्य जारी रहने प्रहरीले जनाएको छ ।


