२०८३ मंसिर १० गते
वीरेन्द्रनगर, सुर्खेत 12°C
कर्णाली प्रदेशको पहिलो राष्ट्रिय दैनिक निष्पक्षता, निर्भिकता, निरन्तरता

पौडीमा बने चार राष्ट्रिय कीर्तिमान

सुर्खेत, ९ मंसिर ।

१० ओैँ राष्ट्रिय खेलकुद अन्तर्गत दोस्रो दिन बुधबार चार नयाँ कीर्तिमान बनेका छन् । पुरुष चार सय मिटरमा सुदूरपश्चिमका अर्थव सिंह, एक सय मिटर ब्रेस्ट स्ट्रोकमा बागमतीका अभिव प्रधान र महिला आठ सय मिटर फ्रिस्टायलमा एनआरएनए लिली बोहराले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

नेपालगन्जस्थित पौडी पोखरीमा जारी प्रतियोगीतामा सुदूरपश्चिमका अर्थवले स्वर्ण पदक जित्ने क्रममा आफ्नो कीर्तिमानलाई भंग गर्दै ४ मिनेट ५६.७६ सेकेन्डको नयाँ कीर्तिमान कायम गरे । यसअघि उनको नाममा सन् २०२५ मा ४ मिनेट ५८.३४ सेकेन्डको कीर्तिमान बनेको थियो । अर्थवले स्वर्ण जित्दा नेपाल पुलिस क्लबका मयोन श्रेष्ठले रजत (५ मिनेट ०७.५७ सेकेन्ड) र बागमतीका अरिक कर्माचार्यले कास्य पदक (५ मिनेट २६.९९ सेकेन्ड) जिते ।

महिलातर्फको आठ सय मिटर फ्रिस्टायलमा लिली बोहराले स्वर्ण पदक जित्ने क्रममा ९ मिनेट ३४.०६ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी छन् । यसअघि उक्त इभेन्टमा सन् २०२५ मा नेपाल आर्मी क्लबकी डुअना लामाको १० मिनेट ०६.९२ सेकेन्डको कीर्तिमान बनेको थियो । लिलीले स्वर्ण जित्दा डुअनाले आफनै पुरानो समयलाई सुधार गर्दै ९ मिनेट ५९.५४ सेकेन्डमा पुरा गर्दै रजत र पुलिसकी देभान्सी जोशीले १० मिनेट ५८.५८ सेकेन्डसहित कास्य पदक हासिल गरिन् ।

बागमती प्रदेशका अभिव प्रधानले एक सय मिटर फ्रिस्टायलमा १ मिनेट ०१.५१ सेकेन्डको नयाँ कीर्तिमान बनाउँदैं स्वर्ण पदक जिते । यसअघि सन् २०२५ मा प्रारम्भ भण्डारीले १ मिनेट ०३.३९ सेकेन्डको कीर्तिमान बनाएका थिए । प्रधानले स्वर्ण जित्दा बागमतीका रिभान्त बहादुर श्रेष्ठले १ मिनेट ०४.०० सेकेन्डसहित रजत र आर्मीका जादेन श्रेष्ठले १ मिनेट ०४.०३ सेकेन्डसहित कास्य पदक हासिल गरे ।

नेपाल पुलिस क्लबको टीमले पुरुष चार गुणा २०० मिटर फ्रिस्टायलमा ८ मिनेट ३२.१३ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाएको छ । यसअघि सन् २०१६ मा मनिष चित्रकार, शुभम श्रेष्ठ, अनुभव सुब्बा र शिरिष गुरुङको नाममा रहेको ९ मिनेट १७.६८ सेकेन्डको कीर्तिमानलाई पुलिस क्लबका इर्भिन श्रेष्ठ, आरुष अवाले, मयोन श्रेष्ठ र काल्किन श्रेष्ठले भंग गर्दै ८ मिनेट ३२. १३ सेकेन्डको नयाँ कीर्तिमान बनाए ।

प्रतियोगिता अन्तर्गत महिला ५० मिटर बटरफ्लाईमा एनआरएनएकी मिखा काया थापाले स्वर्ण पदक (३०.७८ सेकेन्ड), पुलिसकी देभान्सी जोशीले रजत (३२.८८ सेकेन्ड) र बागमतीकी इरा अमात्य र आर्मीकी शिसोम्बुन राईले ३३.५६ सेकेन्डमा पुरा गर्दै संयुक्त रुपमा कास्य पदक प्राप्त गरे ।

५० मिटर पुरुष बटरफ्लाईमा बागमतीका अभिव प्रधानले स्वर्ण (२६.०७ सेकेन्ड), पुलिसका इर्भिन श्रेष्ठले रजत (२७.१४ सेकेन्ड), आर्मीका खेलाडीद्वय सौरेनबहादुर सिंह र असिम भण्डारीले २७.३२ सेकेण्ड समय खर्चेर कास्य पदक जिते ।

दुई सय मिटर महिला फ्रिस्टायलमा एनआरएनएकी लिली बोहराले स्वर्ण (२ मिनेट १४.०३ सेकेन्ड), आर्मीकी डुअना लामाले रजत (२ मिनेट १४.४२ सेकेण्ड) र एनआरएनएकी मिखा ताया थापाले कास्य (२ मिनेट १९.६८ सेकेन्ड) पदक जितिन् ।

२०० मिटर पुरुष फ्रिस्टायलमा पुलिसका इर्भिन श्रेष्ठले (१ मिनेट ५९.४८सेकेन्ड) स्वर्ण, पुलिसकै काल्किन श्रेष्ठले रजत (२ मिनेट ००.८३ सेकेन्ड) र आर्मीका अल्भिन महर्जनले कास्य (२ मिनेट ०५.०० सेकेन्ड) पदक हासिल गरे ।

१०० मिटर महिला ब्याकस्ट्रोकमा बागमतीकी आर्या महर्जनले स्वर्ण (१ मिनेट ११.९५सेकेन्ड), एनआरएनएकी मिखा काया थापाले रजत (१ मिनेट १३.६२ सेकेण्ड) र बागमतीकी रोयल प्रजापतिले कास्य (१ मिनेट १४.४३ सेकेण्ड) कास्य हासिल गरिन् ।

चार गुणा एक सय मिटर महिला मिड्ले रिलेमा बागमतीले स्वर्ण (५ मिनेट ०५.६९सेकेन्ड), पुलिसले रजत (५ मिनेट ११.७१ सेकेन्ड) र आर्मीले कास्य (५ मिनेट १५.८५ सेकेन्ड) पदक प्राप्त गर्‍यो ।

मिक्स ४ गुणा ५० मिटर मिड्ले रिलेमा बागमतीले स्वर्ण (२ मिनेट ०२.४६ सेकेन्ड) आर्मीले रजत (२ मिनेट ०४.११ सेकेन्ड) र पुलिसले कास्य पदक (२ मिनेट ०७.०८ सेकेन्ड) हासिल गरेको छ ।

प्रतियोगिताको दोस्रो दिनसम्म आइपुग्दा अंक तालिकामा बागमती ९ स्वर्ण, ४ रजत, ६ कास्य गरी कुल १९ पदकसहित शिर्ष स्थानमा छ भने एनआरएनए ६ स्वर्ण, १ रजत र २ कास्य गरी कुल ९ पदकसहित दोस्रो र पुलिस ३ स्वर्ण, ७ रजत, ८ कास्य गरी कुल १८ पदकसहित तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको आर्मीले २ स्वर्ण, ८ रजत, ८ कास्य पदक प्राप्त गरेको छ भने पाँचौ स्थानमा रहेको सुदूरपश्चिमले १ स्वर्ण, २ रजत गरी कुल ३ पदक र कोशी प्रदेश १ स्वर्ण सहित तालिकाको छैठौ स्थानमा रहेको छ ।

प्रतियोगिता अन्तर्गत दोस्रो दिन सम्म आइपुग्दा ६ वटा इभेन्टमा राष्ट्रिय कीर्तिमान बनेको छ । प्रतियोगिताको पहिलो दिन पुरुष तर्फको ५० मिटर ब्रेस्टस्ट्रोकमा कोशी प्रदेशका विकास कुमालले आफनै रेकर्डमा सुधार गर्दै ३०.६४ सेकेन्डको नयाँ कीर्तिमान बनाएका थिए । महिलातर्फको ४०० मिटर (आइएम) एनआरएन लिली बोहराले ५ मिनेट १७.०१ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी थिइन् ।

पौडीमा बने चार राष्ट्रिय कीर्तिमान

बर्दियामा तीन हजारभन्दा बढी मतदाता थपिए  कुल

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!