काठमाडौं, ९ मंसिर ।
२०८३ असार मसान्तसम्म सरकारले तिर्न बाँकी ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो । तर कात्तिक मसान्तमा आइपुग्दा यस्तो ऋण घटेर २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँमा झरेको छ । चार महिनामा सरकारले तिर्न बाँकी ऋण ६ अर्ब ५८ करोड ४८ लाख रुपैयाँले घटेको हो ।
के सरकारले यो अवधिमा ऋण लिएकै छैन? अथवा लिएको भन्दा धेरै ऋण तिरेको हो ? तथ्यांकले त्यसो भन्दैन । सरकारले चार महिनामा १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ नयाँ ऋण लिएको छ ।
यस अवधिमा १ खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ । नयाँ ऋणबाट साँवा भुक्तानी घटाउँदा सरकारको ऋण दायित्व ३६ अर्ब ५२ करोड ७२ लाख रुपैयाँ थपिनुपर्ने देखिन्छ । तर कुल ऋण दायित्व भने घटेको छ । यसको कारण विदेशी मुद्राको विनिमयदरमा आएको परिवर्तन हो ।
सरकारले विदेशी मुलुक तथा विकास साझेदारबाट लिएको ऋण सम्बन्धित विदेशी मुद्रामै भुक्तानी गर्नुपर्छ । तर सार्वजनिक ऋणको हिसाब नेपाली रुपैयाँमा राखिन्छ । विदेशी मुद्राको मूल्य घटबढ हुँदा नेपाली रुपैयाँमा देखिने ऋणको दायित्व पनि परिवर्तन हुन्छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा विदेशी मुद्राको तुलनामा नेपाली रुपैयाँ बलियो हुँदा सरकारको बाह्य ऋण दायित्व ४३ अर्ब ११ करोड २० लाख रुपैयाँले घटेको छ । नयाँ ऋणबाट थपिएको ३६ अर्ब ५२ करोड ७२ लाख रुपैयाँ घटाउँदा बाँकी रहेको रकमभन्दा विनिमयदरबाट घटेको दायित्व बढी भयो । त्यसैले कुल सार्वजनिक ऋण साढे ६ अर्ब रुपैयाँले घटेको हो ।
अर्थात् सरकारले ऋण लिन रोकेको वा नयाँ ऋणभन्दा धेरै साँवा तिरेर ऋण घटाएको होइन । विनिमयदरमा आएको अनुकूल परिवर्तनले नेपाली रुपैयाँमा गणना हुने ऋणको आकार घटाएको हो ।
गत वर्ष ठीक उल्टो अवस्था
सार्वजनिक ऋणमा विनिमयदरको प्रभाव यस वर्ष अघिल्लो वर्षको भन्दा ठीक उल्टो देखिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा सरकारले ४ खर्ब ४७ अर्ब रुपैयाँ नयाँ ऋण लिएको थियो । सोही अवधिमा ३ खर्ब १२ अर्ब रुपैयाँ साँवा भुक्तानी गरेको थियो । यस हिसाबले नयाँ ऋण र साँवा भुक्तानीको अन्तरबाट करिब १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण थपिएको थियो ।
तर विदेशी मुद्राको तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदा थप १ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको दायित्व बढेको थियो। यसरी वास्तविक रूपमा थपिएको ऋण र विनिमयदरको प्रभाव जोड्दा कुल ऋण दायित्व करिब ३ खर्ब रुपैयाँले बढेको थियो । विगतमा नेपाली रुपैयाँ अवमूल्यन हुँदा विदेशी ऋणको नेपाली रुपैयाँमा देखिने दायित्व बढ्ने गरेको थियो । कतिपय वर्ष विनिमयदरको प्रभावले यस्तो दायित्व ६ प्रतिशतसम्म बढेको थियो । यस वर्ष भने नेपाली रुपैयाँ बलियो हुँदा त्यसको ठीक उल्टो प्रभाव परेको छ । असारमा १५ रूपैयाँ रहेको डलरको मूल्य अहिले १४८ रूपैयाँमा झरेको छ ।
विदेशी ऋणमा कुन मुद्राको हिस्सा कति ?
नेपालले विदेशी मुलुक तथा विकास साझेदारबाट विभिन्न मुद्रामा ऋण लिएको छ । यस्तो ऋणमा अमेरिकी डलर मात्रै नभई अन्तर्राष्ट्रिय मुद्रा कोषको विशेष आहरण अधिकार (एसडीआर), जापानी येन, चिनियाँ युआन, युरोलगायत मुद्रा पनि छन् ।
सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको २०८२ असार मसान्तको मुद्रा अनुसारको विवरणलाई हेर्दा बाह्य ऋणमध्ये एसडीआरको हिस्सा सबैभन्दा धेरै ७२.६३ प्रतिशत थियो। अमेरिकी डलरको हिस्सा १९.५३ प्रतिशत थियो। जापानी येनको ४.१० प्रतिशत र चिनियाँ युआनको २.४२ प्रतिशत थियो । युरोको हिस्सा ०.६५ प्रतिशत थियो । बाँकी ऋण दक्षिण कोरियाली वन, कुवेती दिनार, साउदी रियाललगायत मुद्रामा थियो ।
एसडिआर अन्तर्राष्ट्रिय मुद्रा कोषले सिर्जना गरेको विशेष आहरण अधिकार हो । यसको मूल्य अमेरिकी डलर, युरो, चिनियाँ युआन, जापानी येन र बेलायती पाउन्डको समूहका आधारमा निर्धारण हुन्छ । सरकारले जुन मुद्रामा ऋण लिएको हुन्छ, सामान्यतया त्यही मुद्रामै साँवा र ब्याज तिर्नुपर्छ । उदाहरणका लागि एक करोड अमेरिकी डलर ऋण लिएको छ भने एक करोड डलर नै भुक्तानी गर्नुपर्छ । तर त्यसलाई नेपाली रुपैयाँमा हिसाब गर्दा विनिमयदरअनुसार रकम फरक पर्छ ।
डलरको मूल्य बढेमा उही एक करोड डलर तिर्न बढी नेपाली रुपैयाँ आवश्यक पर्छ । डलरको मूल्य घटेमा कम नेपाली रुपैयाँ आवश्यक पर्छ । यही प्रभाव अन्य विदेशी मुद्रामा लिइएको ऋणमा पनि लागू हुन्छ । त्यसैले विदेशी ऋणको वास्तविक दायित्व बुझ्न ऋणको साँवा र ब्याज भुक्तानीसँगै विनिमयदरको प्रभाव पनि हेर्नुपर्ने हुन्छ ।
चार महिनामा कति ऋण लियो, कति तिर्यो ?
सरकारले चालु आर्थिक वर्षको पहिलो चार महिनामा १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ नयाँ ऋण लिएको छ । यसमध्ये आन्तरिक ऋण १ खर्ब २५ अर्ब रुपैयाँ र बाह्य ऋण २८ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ छ ।
यस अवधिमा सरकारले १ खर्ब १७ अर्ब ३२ करोड रुपैयाँ साँवा भुक्तानी गरेको छ । यसमध्ये आन्तरिक ऋणको साँवा ९९ अर्ब ९४ करोड र बाह्य ऋणको साँवा १७ अर्ब ३८ करोड रुपैयाँ हो । साँवा र ब्याज गरी सरकारले चार महिनामा १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ भुक्तानी गरेको छ। यसमध्ये ब्याजमा मात्रै २३ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ ।
आन्तरिक ऋणको ब्याजमा १९ अर्ब २४ करोड ८२ लाख र बाह्य ऋणको ब्याजमा ४ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ भुक्तानी भएको छ । कात्तिक मसान्तसम्म कुल सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ । यो नेपालको कुल गार्हस्थ्य उत्पादनको ४५.०८ प्रतिशत हो । कुल ऋणमध्ये बाह्य ऋणको हिस्सा ५२.९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७.०७ प्रतिशत रहेको छ ।


