गणतन्त्र घोषणापछि चार पटक प्रधानमन्त्री बन्ने पहिलो नेता बने केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
एमाले र कांग्रेसले एकै पटक दुई पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम समावेश गरेर मन्त्रिमण्डल गठनको तयारी गरेका छन् । एमालेले सरकारको नेतृत्व गरेपछि कांग्रेसले ९ र एमालेले ८ मन्त्रालय पाउने सहमति भएको छ । कांग्रेसले गृह र परराष्ट्र कांग्रेसले लिने, अर्थ र सञ्चार एमालेले लिने सहमति भएको छ। अन्य मन्त्रालयका विषयमा भने शीर्ष नेताहरू छलफलमै जुटिरहेका छन् ।
२०७४ को निर्वाचनपछि करिब दुई तिहाइको समर्थनमा प्रधानमन्त्री भएका ओली सर्वोच्चको परमादेशबाट हटाइएको थियो । सर्वोच्चको संवैधानिक इजलासबाट यो परमादेश जारी भएको थियो । त्यो बेला परमादेशबाट ओली हटेर कांग्रेस सभापति शेरबहादुर देउवा परमादेशबाट प्रधानमन्त्री बनेका थिए । त्यो असार २८ मा देउवासहित माओवादी केन्द्र, एमालेकै तत्कालीन विद्राही नेता माधवकुमार नेपालसहित मिलेर ओली सरकार बर्हिगमन गराएका थिए । अहिले आएर देउवाकै समर्थनमा ओली प्रधानमन्त्री बनेका छन् । दाहाल र नेपाल भने देउवा ओलीको विपक्षमा छन् । तीन वर्षपछि फेरि बहिर्गमन भएकै दिन असार २८ मा ओलीको पुनरागमन भएको छ । दुई ठूला दलको समर्थनमा शक्तिशाली प्रधानमन्त्री बनेका छन ।
नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनीयताको शपथ लिनेछन् ।
ओली २४ असोज ०७२ मा पहिलोपल्ट प्रधानमन्त्री निर्वाचित भएका थिए । व्यवस्थापिका संसद्मा ५९७ सदस्यमध्ये ओलीले ३३८ मत प्राप्त गरेका थिए । ओलीको उम्मेदवारीलाई माओवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र मधेसी जनअधिकार फोरमसहित अन्य १३ वटा दले समर्थन गरेका थिए । यस्तै, ०७४ को प्रतिनिधिसभा निर्वाचनपछि सबैभन्दा ठूलो दलको हैसियतमा ओली ३ फागुन ०७४ मा दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएका थिए । उनलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ३० वैशाख ०७८ मा तेस्रोपटक प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।
ओली नेपालको चार पटक प्रधानमन्त्री बन्ने दोस्रो नेता हुन् । यसअघि राप्रपाका नेता लोकेन्द्रबहादुर चन्दले चार पटक प्रधानमन्त्री हुने सौभाग्य पाएका थिए । राप्रपाका पूराना नेता चन्द २०४०, २०४६, २०५३ र २०५८ मा गरि चार पटक नेपालको प्रधानमन्त्री बनेका थिए । तर पछिल्ला प्रधानमन्त्रीत्व कालमा उनी धेरै लामो समय टिक्न सकेनन् । समग्रमा चार पटक प्रधानमन्त्री हुने दोस्रो नेता बनेका ओली राजतन्त्र फ्याँकेर ल्याईएको गणतन्त्रमा भने चार पटक प्रधानमन्त्री हुने पहिलो नेता बनेका छन् ।
०६५ सालमा गणतन्त्र घोषणापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तीनपटक, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा २ पटक र माओवादीका बाबुराम भट्टराई, नेकपा एमालेका माधव नेपाल र झलनाथ खनाल तथा कांग्रेसका सुशील कोइराला समान १ पटक देशको प्रधानमन्त्री हुँदा तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी एकपटक मन्त्रिपरिषद्को अध्यक्ष बनेका थिए ।






