तिलागुफा धुवाँमुक्त, भान्छातर्फ ऐतिहासिक कदम
कालिकाेट ,१४ बैशाख ।
कालीकोटको तिलागुफा नगरपालिका मा “एक घर एक चुलो” अभियान सफलतापूर्वक सम्पन्न भएको छ। वर्षौंदेखि परम्परागत चुलोको धुवाँ सहँदै खाना पकाउँदै आएका आमाहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै नगरपालिकाले धुवाँमुक्त भान्छा बनाउने उद्देश्यसहित यो अभियान सञ्चालन गरेको हो।
तिलागुफा नगरपालिका को साझेदारीमा बैकल्पिक ऊर्जा केन्द्र तथा जलवायु संरक्षणका लागि कर्णाली उत्थानशील अभियान नेपाल सँगको समन्वयमा तिलागुफाका घरधुरीमा सुधारिएको चुलो वितरण गरिएको छ। अभियानअन्तर्गत वडा नं. ६, ७ र ८ मा चुलो वितरण सम्पन्न भइसकेको छ।

वडा नं. ७ बालीमा आयोजित वितरण कार्यक्रममा नगर प्रमुख शंकरप्रसाद उपाध्याय ले विश्वव्यापी जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्रमा तीव्र रूपमा देखिन थालेको उल्लेख गर्दै बढ्दो हरितगृह ग्यास उत्सर्जन न्यूनीकरण र वातावरण संरक्षण अहिलेको राष्ट्रिय चुनौती बनेको बताए। उनले कालीकोटमा स्थानीय तह र विभिन्न संघसंस्थाको सक्रियतामा जलवायु संरक्षणका ठोस प्रयासहरू सुरु भएको पनि बताए।
टि.डि.एच. जर्मनीको आर्थिक सहयोग र सहास नेपालको प्राविधिक सहयोगमा सञ्चालित यस परियोजनालाई कर्णाली उत्थानशील अभियान नेपालले नगरपालिकासँग समन्वय गरेर प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेको जनाएको छ। परियोजनाअन्तर्गत ५ सय थान पानी फिल्टर वितरण गर्ने लक्ष्यसमेत राखिएको छ।

हालसम्म वडा नं. ६, ७ र ८ मा १ हजार २५ थान सुधारिएको चुलो वितरण गरिसकिएको छ। प्राविधिकहरूका अनुसार परम्परागत चुलोको तुलनामा यी फलामका सुधारिएका चुलोहरूले दाउराको खपत करिब ४० प्रतिशतसम्म कम गर्छन्। यसले वनजंगल संरक्षण, कार्बन उत्सर्जन न्यूनीकरण तथा वातावरणीय सन्तुलन कायम गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
नगर उपप्रमुख महेन्द्र बहादुर शाही ले भान्छाको धुवाँका कारण महिला र बालबालिकामा देखिने श्वासप्रश्वाससम्बन्धी समस्यामा कमी ल्याउन अभियान प्रभावकारी हुने बताए। उनले भने महिलाहरूको कार्यबोझ घटाउने, समय बचत गर्ने तथा स्थानीयको आर्थिक अवस्था सुधार गर्न आयआर्जनसम्बन्धी तालिम, बालक्लब तथा युवा समूहमार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए।
स्थानीय सरकार र कर्णाली उत्थानशील अभियान नेपाल को संयुक्त प्रयासले कर्णाली क्षेत्रमा जलवायु परिवर्तनका चुनौतीसँग जुध्न र हरित तथा स्वस्थ समाज निर्माण गर्न महत्वपूर्ण कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ ।





